Logo

संसदमा जुहारी : गगन भर्सेस महेश



चैत २६, काठमाण्डौ । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी र सत्ता पक्षका सांसदहरुबीच सरकारका बिषयमा चर्काचर्की परेको छ । कांग्रेस र माओवादीका सांसदहरुले प्रधानमन्त्रीको चर्को आलोचना गर्दै राजीनामासमेत मागे भने एमाले सांसदहरुले बचाउ गरेका छन् ।

विहिबारको प्रतिनिधिसभा नेपाली कांग्रेसका सांसद गगन थापाले पछिल्लो तीन वर्षमा भएका विकास निमार्णका कामबारे संसदमा बहसका लागिका प्रधानमन्त्रीलाई निम्तो दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा चमत्कार भयो भनेपनि राष्ट्रिय गौरव आयोजनाहरु वर्षौदेखि थला परेको थापाको दावी थियो । मोडालिटी, स्रोत, कानून लगायतमा समस्या रहेको भन्दै थापाले यसलाई बदल्न प्रधानमन्त्रीले नेतृत्व दिनुपर्ने बताएका हुन् ।

प्राधनमन्त्री ओली उद्घाटन र शिलान्यासमा व्यस्त रहेको र ‘यति धेरै विकास निर्माणको काम कहिल्यै भएको थिएन, यो त चमत्कार भयो’ भनिरहेको उनले बताए । वास्तविकता के छ भन्ने थाहा नभएर वा ढाट्ने वानी लागेर यसो भएको भन्दै थापाले अघि भने, ‘यो दुबै राष्ट्रका लागि हानिकरक छ ।’

३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री र २ चैत २०७४ मा विना मगर खानेपानीमन्त्री भएको स्मरण गर्दै उनले भने, ‘२९ चैत २०७४ मा मेलम्चीको सुरुङ छिचोलेर उपराष्ट्रपतिले रिबन काट्नुभयो र प्रधानमन्त्रीले यही रोष्ट्रममा उभिएर भन्नुभयो २०७५ असोजमा मेलम्चीको पानी आउँछ ।’

२०४४ सालमा परिकल्पना गरिएको मेलम्ची आयोजना २०५५ सालमा विकास समिति बनेको स्मरण गर्दै उनले ७र८ वर्षमा सक्नुपर्ने आयोजनाका लागि २३ वर्ष लागेको बताए । यो अवधिमा सबै सरकारमा बसेको भन्दै कांग्रेस सांसद थापाले भने, ‘यो बेलामा प्रधानमन्त्री र हामी सबैले काठमाडौंबासीसामू पानी खुवाउन ढिला गर्‍यौं । तर यो आयोजानाबाट हामीले धेरै सिकेका छौं, अब यस्तो गर्दैनौं भन्नुपर्ने बेलामा कहिले धारा खोलेर कहिले बाल्टिन थापेर तामासा गरेको छ । चमत्कार भयो भनेको छ ।’

संसदमा बहस गर्न प्रधानमन्त्री ओलीलाई चुनौती दिएका कांग्रेस सांसद थापालाई सत्तारुढ नेकपा एमाले सांसद महेश बस्नेतले सांसदको संख्या कति हो भन्दै कटाक्ष गरे । संसद संख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताएका हुन् ।

‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ’, उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु– यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’

बस्नेतले ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । सरकारको समर्थन गर्दै आलोचना पनि गरिरहेको माओवादीलाई उनले समर्थन फिर्ता लिए वैधानिक ढंगले एमाले सरकार अगाडि बढ्ने बताए ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले संविधान विपरित काम गरेकाले प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुपर्ने बताएका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीले फेरि प्रतिनिधिसभा विघटनको प्रस्ताव गरेको भन्दै आपत्ति जनाएका थिए । विघटनपछि ब्युँतिएको प्रतिनिधिसभालाई फेरि विघटन गर्नको निम्ति सरकारले बिजनेस नदिएको पौडेलको आरोप छ ।

यता नेकपा एमालेका सांसद लालबाबु पण्डितले भने संसदले काम गर्न नसकेमा सरकारमाथि नभई सभामुखमाथि प्रश्न उठ्ने बताए । प्रतिनिधिसभाको विधेयक अधिवेशनमा एउटा पनि विधेयक पारित नभएको भन्दै उनले संसदले काम गर्न नसकेको दोष सरकारको भन्दा सभामुखको बढी हुने बताएका हुन् ।

बैठकमा पेस हुने भनिएको सूचना प्रविधि सम्बन्धी विधेयक कार्यसूचीबाटै हटाइएको थियो । संसद सचिवालयले विधेयक पेस गर्ने कार्यसूची निकालेपछि अन्तिम समयमा हटाएको थियो । सामाजिक सञ्जालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखेबापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान बिधेयकमा थियो ।



प्रतिक्रिया दिनुहोस्