Logo

अफ्रिकन रुट एसोसियसन आहा रारा गोल्डकपको फाइनलमा



चैत २६, काठमाण्डौ । अफ्रिकन रुट एसोसियसन पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अफ्रिकन रुट उपाधि नजिक पुगेको हो ।

अफ्रिकनलाई जित दिलाउन बासेक र मौसाले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा बासेकले गोल गर्दै अफ्रिकनलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै अफ्रिकनलाई २–० को जित दिलाए ।

खेलको म्यान अफ दि म्याच मौसा चुनिए । पहिलो पटक सहभागिता जनाएको अफ्रिकन पहिलो पटक फाइनल पुगेको हो । सर्वाधिक ६ पटकको च्याम्पियन पुलिस भने सेमिफाइनलबाटै बाहिरिएको छ ।

अब उपाधिका लागि अफ्रिकनले संकटा क्लबसँग खेल्नेछ । संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ । फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्