Logo

ओली र देउवा दुवैद्वारा चुनावको रटान



काठमाडौं, २७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जोड दिन थालेका छन् । सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपनि प्रतिनिधि सभा विघटनको आफ्नो कदमको बचाऊ गर्दै आएका उनले चुनौतीका साथ चुनावमा जान भन्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले मात्र नभई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पनि चुनावमा जानुपर्नेमा जोड दिदै आएका छन् । उनले आज निजामती कर्मचारी युनीयनले आयोजना गरेको कार्यक्रममा चुनावको तयारीमा लाग्न भनेका हुन् ।

देउवाले प्रतिनिधि सभा विघटन हुँदा पनि चुनावको तयारीमा लाग्न भनेका थिए । नुवाकोट पुगेर उनले भनेका थिए,‘चुनाव चुनाव चुनाव ।’

ओली जस्तै देउवा पनि चुनावको पक्षमा छन् । यसले दुवैबीच भित्री समिकरण रहेको विषय चर्चामा छ ।

ओली र देउवाका अलावा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि चुनावको पक्षमा देखिएका छन् । उनी प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा उभिएका थिएनन् । चुनावबाट निकास निकाल्नुपर्ने पक्षमा थिए ।

अहिले ओली, देउवा र ठाकुर चुनावको पक्षमा देखिनुलाई अर्थपूर्ण मानिएको छ । ओलीविरोधी सत्ता समिकरण बन्न यसकारण पनि कठिन देखिएको छ । देश चुनावमा जाने बलियो सम्भावना देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्