Logo

भीम रावलले चारमन्त्रीबारे भनेः पदलोलुपहरुको झुण्ड



काठमाडौं, २८ चैत्र । पूर्वउपप्रधानमन्त्री भीम रावलले हिजो सपथ लिएका चारमन्त्रीहरुलाई पदलोलुपहरुको झुण्ड भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदलोलुपहरुको झुण्ड बोकेर देशको मर्यादामा आघात गरेको टिप्पणी समेत गरेका छन् ।

शुक्रबार साँझ ट्वीट गर्दै रावलले प्रधानमन्त्री ओलीले संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरुको झुण्ड बोकेर हिंडिरहेको आरोप लगाएका हुन् । उनले ओलीले प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्व नलिएको टिप्पणी गरे ।

संसद सदस्य नै खारेज भएपछि स्वतः मन्त्री पदबाट मुक्त भएका चारमन्त्रीलाई प्रधानमन्त्री ओलीले हिजो पुनः नियुक्ति गरी सपथ गराएका थिए ।

रावलले लेखेका छन्ः प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक प्रमाणित हुँदा पनि कुनै दायित्व नलिने,पार्टीको विधान, पद्धति र प्रक्रिया मिचेर पार्टी प्रणाली मानेको स्वाँग गर्ने, संसद सदस्य नभएर पनि मन्त्री पदमा टाँसिएका पदलोलुपहरूको झुण्ड बोकेर देशको मर्यादामा आघात गर्ने चरित्र नै आज देशको समस्या हो ।



प्रतिक्रिया दिनुहोस्