Logo

ओली किन यति ढुक्क



काठमाडौं, २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि आफूलाई सत्ताबाट हटाउन चुनौती दिएका छन् । उनले अहिले नै हटाइहाल्न चुनौती दिएका हुन् । विगतमा पनि ओलीले पटक पटक अविश्वासको प्रस्ताव ल्याउन चुनौती दिने गर्थे ।

नेकपा माओवादी केन्द्रलाई सरकारलाई दिइआएको समर्थन फिर्ता लिन पनि ओलीले चुनौती दिदै आएका छन् । आखिर ओली किन यसरी पटक पटक चुनौती दिइरहेका छन् ?

बालुवाटार अझै पनि ओलीको सत्ता टिक्नेमा विश्वस्त छ । ओलीविरोधी खेमाले बहुमत पुर्याउन नसक्ने र सत्ता समिकरण पनि बन्न नसक्नेमा ढुक्क छ ।

ओलीलाई सत्ताबाट हटाउन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी एकजुट भई अविश्वासको प्रस्ताव पारित गर्नुपर्छ । तीनवटै दल सग्लै रहेर ओलीविरुद्ध एक भएमा मात्र त्यो सम्भव छ । तर, ओली पक्षले जसपाको एउटा समूहलाई नजिक बनाउन प्रयास गरिरहेको छ ।

जसपा अध्यक्ष महन्थ ठाकुरलाई साथ लिनसक्नेमा ओली विश्वस्त देखिएका छन् । ठाकुर ओलीसँग भित्री रुपमा नजिक देखिएका छन् ।

नेपाली काँग्रेसभित्र पनि सभापति शेरबहादुर देउवा चुनावको पक्षमा छन् । ओलीको चाहना पनि अर्ली इलेक्शन हो । देउवाले चुनाव चाहनुले पनि ओलीलाई फाइदा पुगेको छ । उनी चुनावमा चाँडै जाने शर्तमा सत्तामा टिक्ने सम्भावना देखिदैछ ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिइहालेमा ओलीले विश्वासको मत ३० दिनभित्र लिनुपर्छ । विश्वासको मत लिए उनी अर्को एक वर्ष प्रधानमन्त्री ढुक्कले हुनेछन् । नसके राजीनामा दिनेछन् । बहुमतको अर्को सरकार बन्न नसके ओली नै प्रधानमन्त्री हुनेछन् । उनी सबैभन्दा ठुलो दलको हैसियतले संविधान अनुसार प्रधानमन्त्री बनेमा अल्पमतको सरकारबाट चुनावमा जाने निर्णयमा पुग्ने सम्भावना उत्तिकै छ ।

यसकारण पनि ओली ढुक्क छन । उनले यसकारण पनि राजधानीमा आज नेपाल उद्दोग वाणिज्य महासंघको ५५ औं साधारण सभालाई सम्बोधन गर्दै आफूलाई हटाइहाल्लान् भन्ने कुनै चिन्ता नभएको बताएको बुझिन्छ ।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि सर्वोच्च अदालतले त्यसलाई असंवैधानिक ठहर गरेपछि यसरी नै हटाउन चुनौती दिएका थिए । उनले अदालतको अर्को फैसलाले एमाले ब्युँतिएपछि पुनः शक्ति प्राप्त गरेका थिए । ओली फेरि शक्ति वृद्धि हुनेमा ढुक्क देखिएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्