Logo

सन १९८४ मा ललितपुरबाट चोरी भएर अमेरिका पुर्याइएको मूर्ति नेपाल ल्याइयो



वैशाख २, काठमाण्डौ । सन १९८४ मा नेपालको ललितपुरबाट चोरी भएर अमेरिकामा फेला परेको लक्ष्मी नारायणको मूर्ति पुरातत्व बिभागले जिम्मा लिएको छ । साथै उक्त मुर्तिलाई सुरक्षित साथ राख्नका लागि पाटन संग्रहालयमा पठाइएको छ । बिहीबार पुरातत्व बिभागमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादव प्रसाद कोईरालाको उपस्थीतिमा बिभागले मुर्तिको जिम्मा लिएको हो ।

अमेरिकी दूतावास, अमेरिकी कूटनीतिक सेवाअन्तर्गतको विदेश अपराध अनुसन्धान हेर्ने कार्यालय, नेपाल प्रहरी, एफबिआई र डल्लास म्युजियम अफ आर्टको महिनौँको संयुक्त अनुसन्धानपछि लक्ष्मी–नारायणको मूर्ति फेला परेको थियो । अमेरिकाको टेक्सास राज्यस्थित डल्लास म्युजियम अफ आर्टमा गत वर्ष मंसिरमा भेटिएको यो मूर्ति पाटनको पट्को टोलस्थित नारायण मन्दिरबाट हराएको थियो । डल्लास म्युजियममा मूर्ति फेला परेपछि अमेरिकास्थीत नेपाली दुतावासलाई हस्तान्तरण गरिएको थियो भने मूर्ति २०७७ चैत्र ३१ गते नेपाल ल्याइएको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव कोईरालाले धेरै मेहनतपछि बिदेशमा रहेका मूर्ति नेपाल ल्याउन सफल भएको बताए ।

उनले नेपालमा महत्वपूर्ण स्थानमा रहेका मूर्तिहरुको अभिलेखिकरण गरिने जानकारी दिए । सन् १९८४ मा हराउनुअघि पाटनमा उक्त मूर्तिको पूजा हुने गरेको तथा नर र नारीको संयुक्त स्वरूप धारण गरेका देवताको उक्त दुर्लभ मूर्तिको दायाँ भागले नारायण र बायाँ भागले लक्ष्मीको प्रतिनिधित्व गरेको ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उक्त मुर्ति ७० किलोको रहेको छ । मध्यकालिन नेपाली मूर्तिकलाको नमूनाको रुप्मा रहेको र प्रस्तरबाट बनेको उक्त मुक्ति १५ र्औं शताव्दीको मानिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्