Logo

माथिल्लो तामाकोसीः ६ वर्षको लक्ष्य, लाग्यो ११ वर्ष



काठमाडौं, बैशाख ३ । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको छैन ।

व्यवस्थापनमा भएको लापर्बाही र ढिलासुस्तीका कारण आयोजनाको काम समयमा नै सम्पन्न हुन नसकेको हो । पूर्णतय स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक समारोहमा निर्माणाधीन माथिल्लो तामाकोसी परियोजनामा अस्वाभाविक ढिलासुस्ती भइरहेको जनाउँदै अब ढिलासुस्ती भए नसहने चेतावनी दिएका छन् । ओलीले भने, ‘मैले एक वर्षदेखि एउटै कुरा सुनेको छु । एउटा सानो पाइप कि के जाति मेसिन जडान गर्नुछ । एक वर्ष अगाडि त्यही सुनेँ, ६ महिना अगाडि त्यही सुनेँ, तीन महिना अगाडि, एक महिना अगाडि पनि त्यही सुनेको हो । जबकि एक दिन ढिलाइ हुँदा प्रत्यक्ष ५ करोड र परोक्ष १३ करोडको नोक्सानी हुन्छ ।’ अब यस्तो ढिलाइ सह्य हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले यस आयोजनालाई आफूले विशेष ध्यानमा राखेको बताउँदै भने ‘हामीले कडाइ नगरेको भए मेलम्चीको पानी पनि आउने थिएन । हरेक दिनजसो ताकेता गरेर काम सकाएका हौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘अपर तामाकोसीमा पनि काममा ढिलासुस्ती गर्ने, व्यवधान खडा गर्ने पक्षले क्षतिको जिम्मा लिनुपर्छ । विलम्ब स्वीकार्य हुँदैन ।’

नेपाली लगानीको बहुप्रतिक्षित राष्ट्रिय गौरवको हालसम्मकै पहिलो ठूलोे परियोजनाका रूपमा रहेको यो आयोजना २०६५ चैतमा ३५ अर्ब २९ करोड रुपैयाँ लागत अनुमानमा तयार पारिएको थियो । ६ वर्षमा आयोजना निर्माण हुने अपेक्षासहित तयार पारिएको प्रतिवेदनमा निर्माण अवधिको ब्याज साढे १३ अर्ब हुने उल्लेख थियो । आयोजना निर्माणमा ढिलाइ हुँदा सुरुमा निर्माण अवधिको ब्याजसहित आयोजनाको लागत ४८ अर्ब ७९ करोड हुने अनुमान गरिएकोमा हाल आएर आयोजनाको लागत पनि बढेको छ । यो आयोजनाको लागत ३५ अर्बबाट बढेर ब्याजबाहेक ५२ अर्ब पुगेको छ भने हालसम्मको ब्याज २४ अर्ब पुगेको आयोजनाले जनाएको छ ।

यसमा प्राधिकरणको ४१, टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बिमा संस्थानको २–२ प्रतिशत संस्थापक सेयर छ । आयोजनाका लागि सर्वसाधारणबाट १५, दोलखावासीबाट १० प्रतिशत लगानी उठाइएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्