Logo

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन



काठमाडौं, बैशाख ३ । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुरातात्विक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

सरकारले पछिल्ला दिनमा सांस्कृतिक सम्पदाको निर्माणदेखि विभिन्न विकास निर्माण कार्य तीव्रता दिँदै आएको छ । धरहराको २२ तलामाथि टावर निर्माण भएको छ । ११ वैशाखका दिन टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । टावरतर्फको भागमा अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरले टावर निर्माण सम्पन्न भइसकेको र गजुर राख्ने काम पनि भइरहेको जानकारी दिए ।

गत १२ वैशाख २०७२ मा गएको महाभूकम्पबाट ९ तले धरहरा पूर्णरूपमा क्षतिग्रस्त बनेको थियो । धरहरा ढलेकै दिन उद्घाटन गर्दा त्यसको सन्देश नराम्रो जाने भन्दै एक दिनअघि ११ वैशाखमा उद्घाटन गर्न लागिएको हो । ‘१३ वैशाखमा शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं,’ मानन्धरले राजधानीसँग भने ।

आगामी ११ वैशाखमा प्रधानमन्त्रीबाट धरहराको उद्घाटन गरिए पनि सर्वसाधारणले धरहरा चढ्न, हेर्न अझै केही समय कुर्नुपर्नेछ । कोरोना तथा बन्दाबन्दीलगायतका कारण धरहरा निर्माण सम्पन्न हुने समय २५ डिसेम्बरसम्म थप गरिएको छ । थप गरेको समयमा नै धरहराको पुनर्निर्माण सम्पन्न भएमा अझै ८ महिना सर्वसाधारणले धरहरा चढ्न प्रतीक्षा गर्नुपर्ने देखिएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्