Logo

सरकार ढाल्ने खेलको खबरदारी गरौँ : उपप्रधानमन्त्री पोखरेल



वैशाख ४, काठमाण्डौ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक खिचातानीले सरकार ढाल्ने खेल भइरहेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।

शनिबार काठमाडौको हाँडिगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सतल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले पछिल्लो समय सरकारलाई काम गर्ने वातावरण नै नभएको बताए । उनले सरकार ढाल्ने खेल भइरहेको भन्दै त्यसको खबरदारी र प्रतिवाद गर्न आह्वान पनि गरेका छन् ।

कर्णाली प्रदेशमा एमालेकै सांसदले माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएकोप्रति लक्षित गर्दै पोखरेलले जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने काम सुरु भयो भने दुर्भाग्य निम्त्याउने बताए । गलत प्रवृत्तिले जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना हुँदा मुलुकका लागि राम्रो नहुने उनको भनाई छ ।

कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ५ क का प्रदेश सांसद नारायण सिलवालले निर्माण सम्पन्न भएको सत्तल ऐतिहासिक र महत्वपूर्ण रहेको बताए । देओछे पार्टी पुनर्निर्माण उपभोक्ता समितिले निर्माण गरेको सत्तल हाँडिगाउँ क्षेत्रकै ठूलो सम्पत्ति भएको सिलवालको भनाई छ । कुनै समय बेवारिसे बनेका यस्ता पार्टी र सत्तलहरुको पुनर्निर्माणको अभियान नै हाँडिगाउँबाट सुरु भएको उनको तर्क छ । त्यसैगरी मौलिक सम्पदाको संरक्षण गर्न सक्यो भने पर्यटकीय क्षेत्रको रुपमा पनि विकास गर्न सकिने भन्दै उनले त्यस्ता सम्पदा निर्माण गर्दा मौलिकता कामय राख्नुपर्ने बताए ।

कतिपय स्थानमा ठेकेदारको लापरबाहीले समयमा सम्पदा निर्माण अलपत्र परेको भन्दै अब सबैखाले सार्वजनिक सम्पत्ति संरक्षणका लागि एकजुट हुनुपर्ने सिलवालको भनाई छ । कोरोना संक्रमणबाट जोगिनका लागि स्वास्थ्य सतर्कता अपनाउन पनि सिलवालले आग्रह गरे ।

नेकपा एमाले काठमाण्डौ महानगरपालिका ५ का अध्यक्ष विरेन्द्र प्रजापतिले ऐतिहासिक सम्पदालाई जगेर्ना गर्नुपर्नेमा जोड दिए । कतिपय ठाउँमा सार्वजनिक जग्गा हडप्ने काम भइरहेकाले त्यसलाई सरकारले फिर्ता ल्याउनुपर्नेतर्फ ध्यान दिन पनि उनले आग्रह गरेका छन् ।

हाँडिगाउँस्थित टुवालदेवी मन्दिर नजिकैको सतल ४८ लाख ४७ हजार रुपैयाँ खर्च गरेर निर्माण गरिएको हो । त्यसका लागि संघीय सरकार र काठमाण्डौ महानगरपालिकाले बजेट विनियोजन गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले स्थानीय स्तरको विकास निर्माणका लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्