Logo

पूर्वराजा ज्ञानेन्द्रप्रति भारत असन्तुष्ट, राजा फर्काउन खोज्नेलाई साथ नमिल्ने



काठमाडौं, ७ वैशाख । हरिद्वार पुगेर महाकुम्भ मेलामा शाही स्नान गरेर फर्किएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भारत सरकारबाट नै भव्य स्वागत मिलेको प्रचारहरुले काठमाडौंमा तरंग ल्याउन खोजियो । गंगा नदी वरपरबाट शाहको भ्रमणको खुबै चर्चा राजधानीमा चल्यो । पूर्वराजाले हिन्दु धर्ममाथि प्रहार भएको आशयसहितको भाषण पनि गरे । नाम चलेका साधुसन्तले उनलाई राजाकै जसरी सम्मान पनि गरे ।

भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री तीरथ सिंह रावतले प्रतिनिधि मार्फत् फूलको गुच्छा पठाए । उनले सामाजिक सञ्जालमार्फत् पूर्वराजालाई उत्तराखण्डमा स्वागत छ सम्म भने । तर, भारत सरकारका तर्फबाट पूर्वराजाप्रति कुनै ठूलो महत्व दिने काम देखिएन ।

पूर्वराजाको भारतको भ्रमणलाई राजालाई दक्षिणले फेरि गद्दीमा ल्याउन खोजिएको भनी प्रचार गराइएकोमा उल्टै असन्तुष्टिहरु देखिएका छन् । विश्वस्त स्रोतका अनुसार दिल्ली देखि नागपुरसम्म पूर्वराजाको भ्रमणलाई सिधै भारतको स्वार्थसँग जोडेर हेरिएकोमा चासोहरु बढेको हो ।

भारत सरकार या भारतको सत्तारुढ भारतीय जनता पार्टीले पूर्वराजा ज्ञानेन्द्रप्रति कुनै सहानुभूती समेत नदेखाएको बुझिएको छ । हरिद्वारमा पूर्वराजाप्रतिको सम्मानलाई भारत सरकारको नभई व्यक्ति वा कुनै संस्था विशेषबाट मात्र भएको बताइएको छ ।

भाजपाले नेपालमा हिन्दु धर्मबारे चासो दिएको तर राजसंस्थाबारे चासो नदिएको बुझिएको छ । बरु राजावादीहरुले हिन्दुत्वको मुद्दालाई समेत कमजोर पार्ने गतिविधि गरेकोप्रति चासोहरु बढाइएको छ । हिन्दुत्व र राजसंस्थालाई जोडेर लाभ लिन खोज्ने शक्तिहरुप्रति पनि भाजपा असन्तुष्ट भएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्