Logo

फुटबलको माहोल बन्दै : नेपाल सुपर लिग भोलिदेखि, सुरु हुँदैछ कडा प्रतिस्पर्धा



वैशाख १०, काठमाण्डौ । नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुने भएको छ । सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी विच प्रतिस्पर्धा हुनेछ । त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन । टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताए । यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भएपनि आफ्नो टिमको क्षमतालाई भरपुर प्रयोग गरेको खेल्ने बताएका ।

विराटनगरको प्रशिक्षक यान ल ले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताएका छन् । यस्तै कप्तान रजिन धिमाललले तयारी राम्रो भएको र आफुहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताएका छन् । बुटवल लुम्बिनीका प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडीपनि राम्रो रहेका धारणा राख्नुभयो । यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको बताए ।

एफसी चितवनका प्रशिक्षक मेघराज केसीले आफुहरुले सकेको जति कोसिस गरेर प्रशिक्षण गरेको र उपाधि जित्ने टिम आफुहरुपनि भएको दावी गरेका छन् । यस्तै कप्तान भरत खवासले एएफसी कपको छनौट खेलका कारण सबै खेलाडीले प्रशिक्षण गर्न नपाएको र प्रतियोगितामा राम्रो खेल्ने विश्वास रहेको धारणा राखेका छन् । काठमाडौं रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताए ।

यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने बताए । ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले शनिबार हुने खेलका लागि आफ्नो टिम तयार रहेको बताए भने कप्तान अञ्जन विष्टले टिम राम्रो रहेको र लक्ष्य उपाधि भएको प्रष्ट पारे ।

पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताएका छन् । यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षणको समय छोटो हुँदा खेलाडीको वास्तविक जाँच हुन बाँकी रहेको टिप्पणी गरे ।

आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको जनाएको छ । आयोजकले कोरोना भाईरसको महामारी बाबजुत सरकारसँग छलफल गर्दै सरकारको अनुमतिमा लिग आयोजना गर्न लागेको जनाएको छ ।

प्रतियोगिताका डिरेक्टर श्रेयन्स कार्कीले क्लबले लगानी गरिसकेको कारण बन्द रंगशालामा भएपनि प्रतियोगिता आयोजना गर्न गईरहेको बताए । सरकारको सबै स्थानमा पत्र पठाएर स्वीकृती लिएर अघि बढेको उनले बताए । प्रतियोगिता डिरेक्टर कार्कीले दर्शकलाई अनुमति नमिले पनि फरक माध्यमबाट प्रतियोगिताले खेलकुदको माहोल ल्याउने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्