Logo

कोरोनाको चपेटामा भारत



वैशाख १२, काठमाण्डौ । भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २७ लाख पुगेको छ । भारतमा अहिलेसम्म १ लाख ९२ हजारभन्दा धेरै संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमणले भयावह अवस्था सृजना गरेपछि भारतको राजधानी नयाँ दिल्लीमा थप एक साताका लागि लकडाउन बढाइएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिउँसो अर्को एक साताका लागि लकडाउन बढाइएको घोषण गरेका हुन् । कोरोनाको संक्रमणको साङ्लो तोडन भन्दै दिल्ली सरकारले अघिल्लो सोमबार एक साताका लाागि लकडाउन लागू गरेको थियो । तर, संक्रमणमा अपेक्षाकृत ढंगले कमी नआए पछि सोमबार बिहानसम्मको पहिलो लकडाउन सकिनु अघिल्लो दिन नै केजरीवालले ३ मेको बिहान पाँच बजेसम्मका लागि लकडाउन बढाउने घोषणा गरेका हुन् । दिल्लीको अन्य राज्यहरुको तुलनामा संक्रमण दर पनि उच्च रहेको छ ।

दैनिक परीक्षणमा करीब ३७ प्रतिशतका दरले कोरोना पुष्टि भइरहेको छ । संक्रमण बढेसँगै अस्पतालहरुमा बेड र अक्सिजनको चरम अभाव देखिएको छ । अस्पतालहरुमा अक्सिजन आपूर्ति अवरुद्ध हुँदा धेरैको ज्यान गएको छ । बिहिबार र शुक्रबारमात्र दिल्लीका दुईवटा अस्पतालमा अक्सिजन अभावका कारण ४५ जनाको ज्यान गएको थियो । त्यसैगरी बिरामीको चाप बढेकाले अस्पतालहरुले नयाँ बिरामी लिन छाडेका छन् । कोरोनाको दोस्रो लहर सुरु भएसँगै दिल्ली, महाराष्ट्र, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरात, छत्तीसगढ, कर्नाटकलगायत राज्यमा उच्च संक्रमण देखिएको छ । संक्रमणकै कारण भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाइसकेको छ ।

भारतका राज्यहरूमा यो वर्ष हुन गइरहेको शृङ्गलावद्ध चुनाव प्रभावित हुने भएको छ । भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहेपनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ । भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्छ । अहिलेसम्म अमेरिकामा ३२ करोड ८ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये ६८ लाखभन्दा धेरैले उपचार गराइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot