Logo

काँग्रेस महाधिवेशन सार्न देउवालाई ओलीको साथ



काठमाडौं, १३ वैशाख । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सर्ने भएको छ । क्रियाशील सदस्यता वितरणमै अल्झिएर महाधिवेशनसम्बन्धी कार्यतालिका सर्दै गएपछि महाधिवेशन सर्ने निश्चितप्रायः भएको हो ।

महाधिवेशन सार्ने पक्षमा काँग्रेस सभापति शेरबहादुर देउवा आफै देखिएका छन् । उनले त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको साथ खोजेका छन् ।

काँग्रेस महाधिवेशन अबको केही महिनामा नगरे ऐन अनुसार काँग्रेस पार्टी नै खारेज हुन्छ । महाधिवेशन सार्दा पनि फरक नपर्ने गरी सरकारबाट अध्यादेश आओस् भन्ने चाहना देउवाको देखिन्छ । यसका लागि उनले प्रधानमन्त्री ओलीको साथ खोजेका हुन् ।

ओली पनि अध्यादेश ल्याएर काँग्रेस महाधिवेशन सार्न मिल्ने कानुनी व्यवस्था गरिदिनेबारे सकारात्मक भएको बुझिएको छ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन पार्टीभित्र दबाब बढेपनि देउवा अगाडि बढ्न चाहिरहेका छैनन् । यसकारण पनि ओली देउवासँग सकारात्मक भएका हुन् ।

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गरी राजनीतिक दलसम्बन्धी ऐनमा संशोधनका लागि अध्यादेश ल्याउने बहाना पनि बनेको छ ।

यसैगरी, आज बस्ने तय भएको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । बैठक १५ वैशाखको दिउँसो २ बजे बस्ने गरी स्थगित भएको काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्