Logo

जसपाले निर्णय दिए भोलि नै प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी !



काठमाडौं, १४ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सहमति भएको छ । हिजोमात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा यस विषयमा सहमति बनेको हो । तर, उनीहरुले जनता समाजवादी पार्टी, नेपालको निर्णयलाई पर्खने भएका छन् ।

कांग्रेस सभापति देउवाले यो बीचमा जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग नियमित छलफल गरेका छन् । यादव र भट्टराई जसरी पनि प्रधानमन्त्री ओलीलाई विस्थापित गर्ने पक्षमा छन् । तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र शीर्ष नेता राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीलाई साथ दिएर अघि बढ्नुपर्ने अडानमा छन् ।

र, उनीहरु यो बीचमा प्रधानमन्त्री ओलीसँग नियमित छलफलमा छन् । प्रधानमन्त्री ओलीले पनि जसपाका कतिपय मागहरु पूरा गर्ने गरि तयारी थालेका छन् । मुद्दा फिर्ताको निर्णय मन्त्रिपरिषद बैठकबाट भइसकेको पनि जनाईएको छ । कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरुले देउवा निवासमा यसअघि पनि सत्ता समिकरणको विषयमा छलफल गरेका थिए । जसपाका नेताहरुले केही दिनको समय मागेकोले त्यतिवेला ठोस सहमति हुन सकेको थिएन । अब जसपा लामो समय अनिर्णयको बन्दी बन्न नहुने भन्दै पार्टीभित्रैबाट नेता तथा कार्यकर्ताहरुले दबाब दिएपछि आज जसपाका शीर्ष ६ नेताहरुको बैठक बसेको छ ।

माओवादी केन्द्रका एक नेताकाअनुसार सरकारलाई दिएको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव सँगसँगै दर्ता गर्ने माओवादी केन्द्रको तयारी छ । उनले भने,‘त्यसैले हामीले अहिले नै सरकारलाई दिएको समर्थन फिर्ता नलिएको हो । हाम्रो अध्यक्ष र कांग्रेस सभापतिबीच अविश्वासको प्रस्ताव ल्याउनेबारे सहमति भैसकेको छ । आज/भोलिमै प्रस्ताव आउला । तर, उहाँहरुले जसपाको पनि निर्णय चाँडै आओस भन्ने चाहनुभएको छ। सायद, जसपाले आज निर्णय गर्ला । जसपाले पनि अविश्वासको प्रस्ताव ल्याउन सहमति जनाए अब भोलि नै अविश्वासको प्रस्ताव आउनसक्छ ।’ कांग्रेसले पनि केन्द्रीय कार्यसमितिको बैठक भोलिको लागि डाकेको छ । बैठकमा सहभागी हुनुअघि केन्द्रीय सदस्यहरुको हिजोमात्रै पिसिआर परीक्षण गराईएको थियो । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्