Logo

जसपालाई नमनाइकन अविश्वासको प्रस्ताव दर्ता हुन सक्दैनः एनपी साउद



काठमाडौं, १४ वैशाख । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउद सभापति शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन काँग्रेस स्पष्ट रहेको तर संसदमा संख्या पुग्नुपर्ने बताएका छन् । नेता साउदसँग ऋषि धमलाले नेपाली रेडियो नेटवर्कका लागि गरेको कुराकानीः

नेपाली काँग्रेस प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न लागेको हो ?
अझै संख्या पुगिसगेको छैन । संख्या नपुगिकन अविस्वासको प्रस्ताव दर्ता हुनसक्दैन । संख्या पुगेपछि अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ ।
सहमति भयो रे नि हो ? माओवादी केन्द्र र तपाईँहरुबीच अविश्वासको प्रस्ताव दर्ता गराउन एमसीसी पनि पारित गराउने सहमति भएको छ रे ?
होइन एमसीसी पारित गराउने कुरामा हामी पहिले देखि नै सकारात्मक छँदै छौं, अविस्वासको प्रस्ताव दर्ता गराउने बारेमा पनि हामी स्पष्ट नै छौँ तर मुख्य कुरा संख्या पुग्न जरुरी छ, संख्या पुगेपछि मात्रै अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।
शेरबहादुर देउवा र प्रचण्डको विचमा एउटा सहमति भयो– अविश्वासको प्रस्ताव पनि दर्ता गर्ने जसपालाई पनि मनाउने ?
जसपालाई नमनाइकन अविश्वासको प्रस्ताव दर्ता हुन सक्दैन । अविश्वासको प्रस्तावको सन्दर्भमा जसपा संस्थागतरुपमा सहमत भएर संख्याको बारेमा एकिन भएरमात्रै अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।
बर्षमान पुनले प्रष्टरुपमा भन्नुभएको छ– अविस्वाासको प्रस्ताव पनि आउँछ ? केपी शर्मा ओलीको सरकार पनि ढल्छ अब ?
बर्षमान पुनले मात्रै होईन हामी सबैले भनिराखेका छौँ । यो सरकार ढल्नुपर्छ र नेकपा एमाले बाहेकका शक्तिहरु एकठाँउमा आएर वैकल्पिक सरकार बनाउनु पर्छ ।
माआवादी केन्द्र र काँग्रेसको बीचमा भएको सहमति के हो ?
हाम्रो सहमति त खुल्ला छँदै छ नि ? यो सरकारका विरुद्ध वैकल्पिक सरकार बनाउने त्यसका लागि विश्वासको मत फिर्ता लिएर अविश्वासको मत दर्ता गर्ने भनेर त यो त ओपन सेक्रेट छँदै छ नि ।
तपाईँहरुले सहमत गरेपनि एमसीसी पारित गराउन माओवादी केन्द्र पनि सहमत भयो रे । किन र केका लागि ?
माओवादीको एमसीसी प्रतिको दृष्टिकोणबारेमा म जानकार छैन ।
तपाईँ त पार्टी सभापतिसँग निकट नेता हो नि एनपी साउदजी ?
नेपाली काँग्रेसको एमसीसी पारित गर्ने कुरामा जे दृष्टिकोण छ त्यो स्पष्ट छ । र त्यसको बारेमा पटकपटक पार्टीले बोलिसकेको छ ।
जसपाका नेताहरुले पनि भनेका छन् ? हामी काँग्रेससंग सहकार्य गरेर सरकारमा जान्छौँ र एमसीसी पास गर्छौँ भनेर कति सम्भव कति असम्भव ?
सरकार गठनको कुरा र एमसीसी पारित गर्ने कुरा फरक फरक हो । सरकार गठनका सन्दर्भमा हामी स्पष्ट नै छौँ । एमसीसी पारित गर्ने कुरा त्यो बाहेकको कुरा हो । राष्ट्रिय हित अनुकुल नै एमसीसी भएको हुनाले यसलाई पारित गर्नुपर्छ भनेर हामीले विगतमा पनि भनिसकेका छौँ । उसका बारेमा माओवादीले आफ्नो दृष्टिकोण स्पष्ट गर्ला त्यसका लागि नेपाली काँग्रेससँग छुट्टै सहमति गर्नुपर्ने जरुरी छैन ।
नेपाली काँग्रेसको एउटा अडान थियो–जबसम्म एमसीसी पारित हुने वातावरण बन्दैन तब सम्म हामी सहकार्य गर्दैनौँ भन्नुभएको होइन ?
हामीहरुले कहिले पनि त्यस्तो भनेका छैनौँ । हामीले एमाले सरकारका विरुद्ध गठबन्धन गर्नुपर्छ । यो बाहेकका शक्तिहरु एकठाउँमा आउनु पर्छ भनेका हौँ । एमसीसी हाम्रो पूर्व सर्त होईन ।
त्यसोभए नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्दैन ?
अफ्नो प्रतिष्पर्धी पार्टीसँग कसरी सहकार्य गर्नसक्छ ? हामी प्रतिपक्षमा छौँ वैकल्पिक सरकार हौँ । तीन चार बर्ष देखि हामी प्रतिपक्षमा रहिराखेका छौँ । एउटा सत्ताधारी पार्टीसँग पार्टीले निर्णय नै नगरेर कसरी सहकार्य गर्न सक्छ ?
काँग्रेस सभापति शेरबहादुर देउवा र केपी शर्मा ओलीको बीचमा राम्रो सम्बन्ध छ नि ?
राम्रो सम्वन्ध हुनु राम्रो कुरा हो संगै दुःख कष्ट जेल नेल गरेको मान्छे पनि हुनुहोला तर वैधानिक नेपाली काँग्रेसको पोजिसन भनेको हामी प्रतिपक्षमा छौँ र प्रतिपक्षले सरकारसंग गठबन्धन गर्न सक्दैन । हामी सकारात्मक प्रतिपक्ष हौँ । रचनात्मक प्रतिपक्ष हौँ । हामी प्रतिपक्षको हैसियतले ध्वंसात्मक अप्रजातान्त्रीक अलोकतान्त्रिक काम गर्नसक्र्दैनौँ । तर जहाँ सम्म सरकार संग सहकार्य गर्ने भन्ने कुरा छ त्यो प्रतिपक्षको हैसियत मिल्दैन ।
तपाईँहरुले जसपालाई किन कन्भिन्स गर्न सक्नुभएन त ?
जसपासँग लगातार संवाद छलफल भईराखेको छ । जसपालाई आफ्नौ विश्वासमा लिएर जसपाका पनि कतिपय सरोकारहरु तत्काल सरकारबाट समाधान गर्नसकिने किसिमका छन् । कतिपय राष्ट्रिय सहमति हुनुपर्ने कुराहरु छन । यी सबै कुरालाई दृष्टिगत गरेर नेताहरुको जसपासँग कुराकानी भएको छ । अब हामीले वास्तवमा निर्वाचनलाई नै फोकस गरेर हिड्नु पर्ने भएकोले । धेरै जन्जागोलको पस्थिति तयार गर्नुभन्दा हामी निवाचन प्रेरित भएर हामीले गठबन्धन गर्नुपर्छ ।
गण्डकी प्रदेशमा काँग्रेसको नेतृत्वको सरकार बन्छ ?
त्यो त हामीले अविश्वासको प्रस्ताव राखिसकेका छौँ । अरुपार्टी हामीसँग सहमत भइसकेका छन् । त्यसमा सत्ताको दुरुपयोग गर्नेकुरा सरकारले गर्नसक्दछ । तर जहाँसम्म दलहरुको सहमतिको कुरा हो यसमा हामी सबै दल एक छौँ । नेपाली काँग्रेस माओवादी जनमोर्चा र जसपा एकै ठाउँमा भएर हामीले अविश्वासको प्रस्ताव राखेको हो ।
महाधिवेशन अन्यौलमा पर्यो ? भदौमा महाधिवेशन नहुने भयो होईन ?
महाधिवेशन नहुने भनेर निर्णय भएको छैन । भदौमा नै हुन्छ निर्धारित समयमा नै हुन्छ भनेर हामीले आवश्यक तयारी गरिरहेका छौँ ।
कसरी हुन्छ भदौमा कार्यतालिका अनुसार तपाईँले काम गर्न सक्नुभएको छैन ?
हामी कोशिश गरिराखेका छौँ । आवश्यक तयारी भइरहेको छ । विभिन्न जिल्लामा विवाद र समस्या समाधान गर्ने कोशिश भइरहेको छ ।
कोरोना ह्वातै बढिरहेको छ ? कार्यकर्ता घरमा नै बस्नुपरेको छ ? अनि कसरि हुन्छ ?
कोरोनाका कारणले हामीले कार्यक्रमको मोडालिटी परिवतन गर्नु पर्ने बाध्यता आउन सक्छ । जुन हामीले विगतमा जसरि गरिरहेका थियौँ ठुलाठुला सभाहरु भेलाहरु त्यो प्रक्रियाको ठाँउमा हामीले वैकल्पिक प्रक्रियामा जानुपर्ने हुन सक्छ । तर संविधानले एकिन गरेको महात्रिवेशनलाई हामीले रोक्न मिल्दैन ।

 



प्रतिक्रिया दिनुहोस्