Logo

देश लकडाउनमा नेताहरु सत्ता संघर्षमा



काठमाडौं, १६ वैशाख । कोरोना भाइरसको महामारीले देशका प्रमुख शहरहरुमा लकडाउन गरिएको छ । काठमाडौं उपत्यकालगायत प्रमुख शहरहरुमा लकडाउन गरिएको अवस्थामा सत्ता संघर्ष झन् चर्किएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संकट टार्न जनता समाजवादी पार्टीसँग सम्झौताको वातावरण विकास गरिरहेका छन् । केही दिनभित्रै सम्झौताको तयारी भएको छ । जसपा सरकारमा जानेसम्मको संकेतहरु देखिएको छ ।

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भइरहँदा ओलीले जसपालाई पक्षमा पारेर काउन्टर रणनीति अन्र्तगत जसपालाई साथमा लिन खोजेका छन् । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरविरुद्धको अविश्वासको प्रस्ताव विफल बनाउन जसपासँग एमालेको समिकरण बनिसकेको छ । त्यहाँ जसपाका ४ सांसदले पोखरेललाई साथ दिएर मन्त्री बनेका छन् । तर, सत्ता संघर्ष चर्कँदै गएको छ ।

जसपाका ४ सांसदलाई पार्टीबाट निष्काशन गर्ने निर्णय प्रदेश कमिटीले गरेको छ । त्यहाँ महन्थ ठाकुर र उपेन्द्र यादव पक्षधरबीच विवाद चलेको छ ।

गण्डकी प्रदेशमा सत्ता संघर्षमा रोचक घटनाहरु घटेका छन् । १५ वैशाखमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्तावमाथि छिनोफानो हुनुपर्नेमा जनमोर्चाका सांसद खिमविक्रम शाहीको अवस्था अज्ञात भएपछि घटनाले नयाँ मोड लियो । जनमोर्चाले सांसद वेपत्ताको उजूरी गरेपछि बैठक नै स्थगित भयो । शाही चिरक अस्पतालको कोभिड आइसियू वार्डमा भेटिए ।

सत्ता जोगाउन मुख्यमन्त्री गुरुङ्गले मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दिपक मनाङेलाई मन्त्री बनाएका छन् । ग्याङस्टर हुँदै मनाङे मन्त्री बनेको घटनाले तरंग ल्याएको छ ।

प्रदेश १ र बागमती प्रदेशमा पनि सत्ता संघर्ष चलिरहेको छ । त्यहाँ कुनैपनि बखत मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भएको छ ।

सत्तारुढ नेकपा एमालेभित्रको गम्भीर विवादले फ्लोर क्रसका घटनाहरु फेरि दोहोरिने सम्भावना पनि देखिएको छ । माधवकुमार नेपाल पक्षीय सांसदहरु फ्लोर क्रसका लागि बढ्न सक्ने सम्भावनाहरु देखिएका हुन् । यसले लकडाउनमा सत्ता संघर्ष झनै चर्कने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्