Logo

विपक्षीको विरोधकाबीच शंकर पोखरेललाई निवासमै खुवाईयो सपथ, २ जना मन्त्री पनि नियुक्त



वैशाख १९, काठमाण्डौ । दोश्रोपटक मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता शंकर पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले पद तथा गोपनीयताको सपथ गराएका छन् । विपक्षी गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित वहुमत दावी गरेकै अवस्थामा पद तथा गोपनीयताको सपथ गराइएको हो ।

आइतबार साँझ मुख्यमन्त्रीको निवासमा पोखरेलले सपथ लिएका हुन् । प्रदेश प्रमुख यादव सेना, प्रहरीको सुरक्षा घेरामा मुख्यमन्त्री निवास पुगेका थिए ।

मुख्यमन्त्री रहेका पोखरेलले संविधानको धारा १६८ (२) अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अन्तर्गत एमालेको एकल सरकार गठन गर्ने भन्दै विहान राजिनामा दिएका थिए ।

हाल कायम रहेको ८१ जना प्रदेशसभा सदस्य मध्ये ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष शंकर पोखरेलले पुनः मुख्यमन्त्रीको दावी पेश गरेलगत्तै माओवादी केन्द्र र नेपाली कांग्रेसले कुलप्रसाद केशीलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै ४२ जनाको हस्ताक्षर प्रदेश प्रमुख समक्ष पेश गरेका थिए ।

तर प्रदेश प्रमुख यादवले यस अघि नै ४१ जनाको हस्ताक्षर पेस गरेका एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । अल्पमतका नेतालाई मुख्यमन्त्री नियुक्त र सपथ गराइएकोप्रति विपक्षी गठबन्धनले आपत्ति जनाएका छन् ।

उनीहरुले मुख्यमन्त्रीको सपथ नगराउन प्रदेश प्रमुख कार्यालयमा धर्ना दिए पनि कडा सुरक्षा प्रबन्ध गरी पोखरेललाई सपथ गराइएको हो ।

दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि साँझ ठुलो संख्यामा सुरक्षाकर्मी बोलाएर प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको निवास लगिएको हो ।

बल प्रयोग गरिएपछि सांसदहरुले प्रदेश प्रमुख र प्रहरी दमनको विरोधमा नाराबाजी गरेका छन् । सातै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि सपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्