काठमाडौं । प्रधानमन्त्री वालेनद्र शाह (बालेन)ले यो सरकार विद्यमान संविधानप्रति सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवसका अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेनले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि बढिरहेको बताए। “यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरुपमा प्रतिबद्ध छ,” उनले भने।
उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसको कार्यान्वयन गर्ने निकाय र व्यक्तिहरू इमानदार तथा निरन्तर सक्रिय हुन नसके त्यसको महत्व सीमित हुने धारणा राखे। “संविधान जति राम्रो भए पनि त्यसलाई चलाउने हात इमानदार र अनवरत क्रियाशील भएनन् भने त्यो एउटा कागज मात्रै बन्नेछ,” प्रधानमन्त्री बालेनले भने।
सम्बोधनका क्रममा उनले सरकारले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे। भ्रष्टाचार र दण्डहीनताको समस्या गहिरो भए पनि त्यसविरुद्ध अघि बढ्ने शक्ति बलियो रहेको उनको भनाइ थियो। “म प्रष्ट भन्छु– यो सुरुवात हो, अन्त्य होइन। भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ तर यो जरो उखेल्ने हातहरू बलिया छन्। झन् धेरै छन्,” उनले भने।




प्रतिक्रिया