‘संस्कृति शिरोमणि’ जोशीलाई पत्नीशोक’


ललितपुर, २० वैशाख । ‘संस्कृति शिरोमणि’ हरिराम जोशीलाई पत्नीशोक परेको छ । जोशीकी श्रीमती कदमकेशरी जोशीको मानभवन, ललितपुरस्थित आफ्नै घरमा निधन भएको हो । ‘जोशी रिसर्च इन्स्टिच्युट’ की प्रोपाइटरसमेत रहेकी श्रीमती जोशीको दाहसंस्कार पशुपति आर्यघाटमा गरिएको थियो । उहाँलाई माइला पुत्र दीपकरामले दागबत्ती दिनुभएको थियो ।

मृतक जोशी केही वर्षदेखि डिमेन्सिया (विस्मरण) रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा मधुमेह र पिसाबसम्बन्धी रोग थपिएको पारिवारिक स्रोतले बताएको छ ।
मृतक जोशीको जन्म विसं १९९४ असार १२ गते काठमाडौँ थायँमरूमा भएको थियो । मिरमान र ज्वालादेवी मास्केकी सुपुत्री श्रीमती जोशीका तीन छोरामध्ये जेठा प्रदीपरामको निधन २०७० वैशाख १ गते भएको थियो । उहाँकी एक छोरी हुनुहुन्छ ।

श्रीमती जोशीकै सक्रिय सहयोगमा सन् १९८० मा स्थापित जोशी रिसर्च इन्स्टिच्युटले सन् १९८१ देखि ‘रोलम्ब’ नामको अनुसन्धानात्मक वार्षिक जर्नल प्रकाशित गर्न थालेको थियो । रोलम्बका ३१ वटा अङ्कहरू प्रकाशित छन् । हालै भक्तपुर साकोसद्वारा प्रकाशित लेखक हरिराम जोशीको पुस्तक ‘मेरा अनुभूतिहरू’ श्रीमती जोशीमा समर्पित गरिएको छ ।

‘श्रमाटन’ बहस

काठमाडौं । १३२औं अन्तर्राष्ट्रिय श्रम दिवसका अवसरमा बीएन जोशीको वैदेशिक रोजगारीसम्बन्धी आत्मसंस्मरणात्मक पुस्तक ‘श्रमाटन’ माथि भर्चुअल बहस भएको छ । व्यक्ति विकास सम्बन्धी संस्था निड्सले आयोजना गरेको उक्त कार्यक्रममा विभिन्न विज्ञ वक्ताहरुले श्रमाटन लाखौं नेपाली श्रमिकले भोग्नुपरेका कथाव्यथाको प्रतिनिधि पुस्तक भएको टिप्पणी गरे ।

निड्सका कार्यकारी निर्देशक चिरञ्जीवी बरालले श्रमाटन पढ्दै जाँदा रोविन्सन क्रुसोको स्मरण भएको बताए । ‘यो पुस्तकमा स्वछन्दतावाद, प्रकृतिप्रेम र पुनरावलोकनको बेजोड मिश्रण भएको छ,’ बरालले भने, ‘यो तिलस्मी यथार्थवादले भरिपूर्ण पुस्तक हो । यो पुस्तक पढ्दा लगानीको भरपुर उपयोग हुन्छ ।’

यूएन वुमेनकी पूर्व अधिकारी सरु जोशी श्रेष्ठले किताबभित्रका कथाहरुले सरकारलाई चुनौती दिएको बताइन् । ‘जस्तै संकटमा पनि संघर्ष गरी कोसिस जारी राख्नु र आफैले भोगेको कुरा लिपिबद्ध गर्नु ठूलो कुरा हो । त्यतिखेरको अवस्थामा लाखौं श्रमिकहरुको अभिलेख नराख्नु सरकारको अक्षम्य गल्ती थियो । पीडितहरुले चाहँदा चाहँदै पनि कतै सरकारी निकायसँग सम्पर्क भएन,’ उनले भनिन्, ‘अहिले सरकारले श्रमका लागि १७२ वटा देशमा पखेटा फिँजाएको छ, तर वैदेशिक रोजगारमा जानेहरुको हक अधिकारको कार्यान्वयन गर्ने विषयमा चुकेको देखिन्छ, जुन दुर्भाग्यपूर्ण छ ।’ उनले किताब पढ्दा आँखा रसाउँदा रसाउँदै पनि निरन्तर तानेको पठनानुभूति सुनाइन् ।

दक्षिण एसियाली क्षेत्रीय व्यापार संघ परिषद्का महासचिव लक्ष्मणबहादुर बस्नेतले श्रमाटनलाई वृत्तचित्रमा देखाउन सके निकै उपयोगी हुने बताए । उनले टिप्पणी गरे, ‘करिब एक दशकमा लेखकले यति धेरै क्षेत्रको यात्रा गरे, यतिका समयको कसरी व्यवस्थापन गरे, आर्थिक व्यवस्थापन कसरी गरे होला ? त्यसभित्र कति धेरै हण्डर खानुपरेको होला, अचम्मलाग्दो छ ।’ नेपालमै रोजगारी सिर्जनाका लागि प्रविधिमैत्री र रोजगारीमुलक शिक्षा अत्यन्तै जरुरी रहेको उनको भनाइ थियो ।

पुस्तक समीक्षा गर्दै पूर्व मुख्यसचिव तथा श्रम सचिव डा सोमलाल सुवेदीले लेखकको भोगाइ अत्यन्तै पीडादायी हुँदाहुँदै पनि उनले परदेशमा खेलेको नेतृत्वदायी भूमिकाको सराहना गरे । ‘हामीले भोगेको सामाजिक परिवेश, देखासिकी, विप्रेषणले निम्त्याएको सांस्कृतिक विचलन, अन्तर्राष्ट्रिय मानवतस्करको जालोलगायत यावत् यथार्थ पस्कने साहस लेखकले गरेका छन् । हाम्रो नेतृत्वले युवा पुस्तालाई ध्यान दिन नसक्नु ठूलो गल्ती हो । संकटको घडीमा पनि लेखकमा जुन जोश देखिएको छ, त्यो अद्भुत छ,’ सुवेदीले भने ।

कार्यक्रममा श्रमविज्ञ डा गणेश गुरुङले श्रमाटन पुस्तक श्रमसम्बन्धी अध्ययन र अनुसन्धानको एउटा महत्वपूर्ण दस्तावेज रहेको टिप्पणी गरे । श्रम अध्येता विजया दाहालले सहजीकरण गरेको कार्यक्रममा लेखक जोशीले आफ्ना अनुभव सुनाउँदै रोजगारीको उपयुक्त अवसरका साथै व्यवसायमैत्री वातावरण नहुँदा युवाहरु नेपालमा टिक्न नसकेको धारणा राखे ।