Logo

एमालेका २१ जना सांसदले राजीनामा दिएमा सत्ता राजनीतिमा के हुन्छ ?



काठमाडौं, २१ वैशाख । नेकपा एमालेबाट प्रतिनिधि सभामा निर्वाचित २१ जना सांसदले राजीनामाको तयारी गरेका छन् । माधव नेपाल र झलनाथ खनाल पक्षधर प्रत्यक्ष निर्वाचित २१ जनाले राजीनामा दिने तयारीमा सत्ता राजनीतिको रणनीतिक उद्देश्य लुकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली २७ वैशाखमा विश्वासको मत लिन प्रतिनिधि सभामा प्रस्तुत हुनु अघि राजीनामा दिने तयारी हुनु अर्थपूर्ण छ । २१ जना नेकपा एमालेका सांसदले राजीनामा दिएमा १०० जना सांसदमात्र बाँकी रहन्छन् । एमाले संसदमा सबैभन्दा ठूलो दल कायमै रहन्छ । तर, बहुमत सिद्ध गर्न प्रधानमन्त्री ओलीलाई फलामको च्यूरा सावित हुन्छ ।

यस्तो अवस्थामा ओलीले बहुमत सिद्ध गर्न थप २३ सांसद जरुरी हुन्छ । काँग्रेस र माओवादी केन्द्रबाहेकबाट जसपाको सबै सांसद पक्षमा आउँदैनन् । जसपाको ३२ मध्ये २३ सांसद तान्न सजिलो छैन । नेमकिपा र जनमोर्चाबाट पनि ओलीलाई मत आउने सम्भावना देखिदैन । ओली सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री बन्ने ढोका काँग्रेस, माओवादी र जसपाको एउटा पक्षले रोक्न सक्छ ।

एमालेका २१ जनाको राजीनामाले प्रतिनिधि सभामा बाँकी हुने २४५ सिटसंख्यामध्ये बहुमत अर्थात् १२३ पुग्न काँग्रेस र माओवादीलाई अर्को कुनै दलबाट १३ सिट भए पुग्छ । ३२ सिट रहेको जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधरबाट त्यो संख्या पुग्न सक्छ । ओलीलाई रोक्ने यही रणनीतिका साथ माधव नेपाल कठोर कदमका लागि बढेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्