Logo

ओलीविरुद्ध महागठबन्धन, सहमतिको खाका बन्यो



काठमाडौं, २२ वैशाख । राजनीतिक शक्तिले यस्तो अवस्था ल्यायो कि प्रधानमन्त्री केपी शर्मा ओली एकातर्फ बाँकी हस्ती नेताहरु अर्कातर्फ हुँदा पनि उनकै प्रभाव बढी देखिएको छ । ओलीले एउटै दल तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा रहँदा तीन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सडकमा धर्ना दिने अवस्थामा पुर्याइदिएकै हुन् ।

यतिले मात्र ओलीको खेल रोकिएन । उनले एमाले ब्युँतिएपछि माधवकुमार नेपाललाई पार्टीबाट निष्काशित गरे । झलनाथ खनालसहित हस्ती नेताहरुलाई स्थायी कमिटीमा समेत नराखी पार्टीको अध्यक्षका हैसियतले कठोर निर्णयहरु लिए ।

ओलीले वामदेव गौतमलाई डिनर छाडेर हिंड्ने सम्ममा पुर्याए । माधव नेपाल र झलनाथ खनालसँग निकट नेताहरु पेलाईमा परे । जसका कारण माधव नेपाल गर या मरको अवस्थामा पुगे । उनले एकपछि अर्को कठोर कदम चाल्ने निर्णयहरु लिए ।

अहिले आफूसहित निकटस्थ प्रत्यक्ष निर्वाचित सांसदहरुको सामूहिक राजीनामाबाट भएपनि अगाडि बढ्ने रणनीतिका साथ नेपाल सक्रिय भएका छन् । उनले त्यस्तो कदमबाट ओलीलाई फेरि प्रधानमन्त्री बन्न रोक्न खोजेका छन् ।

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग बसेर रणनीतिबारे छलफल गरेका छन् । उनीहरुबीच एक प्रकारको भित्री सहमति बनिसकेको बुझिएको छ । अब नेपालपक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिने, सभामुखले त्यसको स्वीकृति गर्ने र ओलीलाई विश्वासको मत लिनबाट असफल बनाएर बहुमतप्राप्त अर्को सरकारका लागि मार्ग प्रशस्त गर्ने रणनीति बनेको छ । आगामी चुनावसम्म शिर्ष र प्रभावशाली नेताहरुलाई चुनाव जिताउने गरी सहकार्य गर्ने सम्ममा नेताहरुले सहमतिको खाका तयार गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नयाँ सरकार गठन देखि आगामी चुनावसम्मका लागि महागठबन्धन बनाउने गरी ओलीविरोधी नेताहरुले सालाखाला सहमति निकालेका छन् । महागठबन्धनमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत हस्ती नेताहरु रहने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्