Logo

आइसोलेसन बने तर अक्सिजन छैन



दाङ, बैशाख २६ । तुल्सीपुर उपमहानगरपालिकाले कोरोना संक्रमतिको उपचारका लागि भन्दै ५० बेडको आइसोलेसनको संरचना तयार पार्‍यो। केही दिनअघि मात्रै सम्पन्न आइसोलेसनमा बिरामी संख्या भने अहिलेसम्म शून्य छ। आइसोलेसनमा बेडसहित आवश्यक पूर्वाधार तयार पारिए पनि अक्सिजन अभावमा सञ्चालनमा आउन भने सकेको छैन।

उपमहानरका मेयर घनश्याम पाण्डे भन्छन्, ‘आइसोलेसन तयार छ, तर अक्सिजन नहुँदा बिरामी राख्न सकिएको छैन।’ मेयर पाण्डेका अनुसार उपमहानगरले आवश्यक अक्सिजनको जोहो गरिरहेकै छ। तर आइसोलेसनका लागि नभई बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालका लागि जोहो गरिरहनु परेको छ।’ राजपुर गाउँपालिकाले भने २० बेडको आइसोलेसन तयार पार्यो। तर यो गाउँपालिकाको आइसोलेसनमा पनि एकजना बिरामी छैनन्। यो गाउँपालिकामा पनि अक्सिजन अभाव हुँदा बिरामीहरूलाई आइसोलेसनमा राख्न सकिएको छैन। फलतः त्यहाँका बिरामीहरूलाई लमही स्थित आइसोलेसनमा पठाईएको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिए।

‘आइसोलेसन तयार पार्‍यो, तर अक्सिजन अभावमा बिरामी राख्न सकिएको छैन,’ अध्यक्ष केसीले भने, ‘हामीहरूले बिरामीहरूलाई लमहीस्थित आइसोलेसनमा पठाइरहेका छौँ।’ देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकाको लगानीमा लमहीमा आइसोलेसन सञ्चालन भएको छ। गढवा गाउँपालिकाले पनि आइसोसेसन त तयार पार्‍यो, तर यो आइसोलेसनमा पनि बिरामी राख्न नसकिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए।

देउखुरी क्षेत्रका चार वटा स्थानीय तहका बिरामी राख्नका लागि लमहीमा आइसोेलेसन तयार पारिएको छ। ४२ बेडसहितको उक्त आइसोलेसनमा पनि बिरामीको चाप बढे अक्सिजन पुर्‍याउन सकिएको छैन। लमही नगरपालिकाका मेयर कुलबहादुर केसीले भने, ‘अहिले आइसोलेसनमा रहेका बिरामीहरूका लागि त अक्सिजन पुगिरहेकै छ, तर बिरामीको चाप थप बढेमा अक्सिजन पुर्याउन सकिने छैन। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्