Logo

‘सरकारको नेतृत्व पाएमात्र’ जसपा समिकरणको लागि तयार



काठमाडौं, २८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्पमतको सरकारको नेतृत्वबाट रोक्न जनता समाजवादी पार्टी नयाँ विकल्पका साथ प्रस्तुत भएको छ । सत्ता राजनीतिमा जसपा निर्णायक शक्ति बनेपछि उसले सरकारको नेतृत्वको दाबी प्रस्तुत गरेको हो ।

सिधै प्रस्ताव नगरेपनि जसपाको दुई पक्षको फरक भूमिकाले त्यस्तै संकेत गरेको छ । जसपाको उपेन्द्र यादव पक्ष ओलीलाई रोक्न नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग सत्ता समिकरणको पक्षमा उभिएको छ । यादवले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संयुक्त हस्ताक्षर गर्दै नयाँ सरकार गठनको आव्हान गर्न पत्र लेखेका थिए ।

तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले सरकारमा जाने या समिकरण बनाएर सरकारसम्बन्धी भूमिका निभाउने कुनै निर्णय नभएको बताएका छन् । उनले एक विज्ञप्ति जारी उपेन्द्र यादवले हिजो संयुक्त विज्ञप्तिमा गरेको हस्ताक्षरको घुमाउरो तरिकाले आलोचना गरेका छन् ।

जसपा सत्ता समिकरणमा सहभागी हुने नहुनेमा विभाजित भइरहँदा उसको सरकारको नेतृत्वको दाबी फेरि एकपटक बलियो भएको छ । जसपाको महन्थ ठाकुर समूहले स्पष्ट रुपमा सरकारको नेतृत्व पाएमात्र समिकरणमा रहने सन्देश प्रवाह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्