Logo

बीमा कम्पनीहरूको संस्थापक शेयर लगानीमा कडाइ



काठमाडौं, बैशाख २९ । बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी भएको संस्थापक शेयरलाई सम्बद्ध शेयरधनीले २ वर्षभित्र नै विक्री गर्नुपर्ने भएको छ । बीमा समितिले हालै बीमकको संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

२ वर्षभित्र सीमाभन्दा बढी भएको शेयर विक्री नगरेमा शेयरधनीलाई कम्पनीबाट वितरण हुने नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयरमा रोक लगाइने पनि निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार कुनै व्यक्ति, एकाघर परिवार वा तथा संगठित संस्थाले एउटा बीमा कम्पनीमा चुक्ता पूँजीको बढीमा १५ प्रतिशतसम्म संस्थापक शेयर लगानी गर्न पाउनेछन् । त्यसरी एक व्यक्तिले एउटा कम्पनीमा १५ प्रतिशतको सीमामा संस्थापक शेयर लगानी गरेपछि समान प्रकृतिको अन्य कम्पनीहरूमा पनि चुक्ता पूँजीको १ प्रतिशतभन्दा कम हुनेगरी संस्थापक शेयर लगानी गर्न पाउनेछन् । तर, फरक प्रकृतिको कम्पनीमा भने १५ प्रतिशत संस्थापक शेयरमा लगानी गर्न पाउँछन् । समितिका अनुसार चुक्ता पूँजीको १ प्रतिशत कम हुने गरी एकभन्दा बढी कम्पनीमा शेयर लगानी गर्न सकिनेछ ।

यदि, कुनै एक जीवन बीमा कम्पनीमा एक समूहको १५ प्रतिशतसम्म संस्थापक शेयर छ भने उक्त समूहले अन्य जीवन बीमा कम्पनीहरूमा १ प्रतिशतभन्दा कमको सीमामा मात्रै संस्थापक शेयर लिन पाउँछन् । कुनै समूहले समान बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी संस्थापक शेयर लगानी गरेमा २ वर्षभित्र नै विक्री गर्नुपर्ने समितिको निर्देशन छ ।

तर, सरकारको ५० प्रतिशतभन्दा बढी स्वामित्व भएको कम्पनीहरूमा समितिको स्वीकृति लिएर बढीमा २५ प्रतिशतसम्म एकभन्दा बढी बीमक ९बीमा कम्पनी० मा संस्थापक लगानी गर्न दिइने पनि निर्देशिकामा उल्लेख छ ।

बीमा समितिले एकै प्रकृतिका बीमा कम्पनीहरूमा क्रश होल्डिङ भएर बसेका संस्थापक शेयरलाई पनि २ वर्षभित्र नै विक्री गर्न निर्देशन दिएको छ ।

एकै किसिमको बीमा व्यवसाय गर्ने बीमकहरूमा आपसमा प्रतिअंशियारी ९क्रश होल्डिङ० हुनेगरी संस्थापक शेयर लगानी भएमा त्यस्तो शेयर २ वर्षभित्र विक्री गर्नुपर्ने छ । साथै, एकै समूह, व्यक्ति वा एकाघर परिवारले समान प्रकृतिका बीमा कम्पनीहरूमा तोकिएको सीमाभन्दा बढी शेयर लगानी भएमा त्यस्तो शेयर पनि विक्री गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्