Logo

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने प्राधिकरणको निर्णय



काठमाडौं, बैशाख २९। नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक स्तरबाट गतहप्ता उक्त उद्योगलाई ३० मेगावाट विद्युत् दिन स्वीकृति गरिएको हो ।

योसँगै अब प्राधिकरणले उक्त उद्योगलाई ३० मेगावाटसम्म विद्युत् दिन सक्नेछ । बर्दघाटबाट सर्दी हुँदै सिमेन्ट कारखानासम्म जाने १३२ केभी प्रसारणलाइनबाट त्यो बराबरको विद्युत् दिनेगरी प्राधिकरणले लोड स्वीकृति गरेको हो । उक्त प्रसारणलाइन तयार नभएको हुँदा उद्योगले तत्काल विद्युत् भने पाउन सक्ने छैन ।

हाललाई ३० मेगावाटसम्म विद्युत् दिनेगरी मात्र निर्णय गरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । अब प्रसारण लाइन तयार भएपछि उद्योगलाई त्यस बराबरको विद्युत् उपलब्ध गराउने उनको भनाइ छ ।

‘प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । सम्भवतः चालू आवमा नै प्रसारण लाइनको निर्माण कार्य सम्पन्न हुन्छ,’ उनले भने, ‘ढिलोमा पनि आगामी आवदेखि उद्योगलाई विद्युत् आपूर्ति गर्नेगरी काम भइरहेको छ ।’

चिनिया लगानीमा स्थापना भएको उद्योगले २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन शुरू गरे पनि हालसम्म बिजुली पाउन सकेको छैन । विद्युत् नपाएर उद्योग अझै पनि डिजेलमार्फत नै सञ्चालन भइरहेको छ । तर, अहिले प्रसारण लाइन निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेकाले उद्योगले छिट्टै विद्युत् पाउने प्राधिकरणको भनाइ छ ।

उद्योगलाई नियमित सञ्चालन गर्न ५० मेगावाटसम्म विद्युत् आवश्यक हुने बताइएको छ । तर, प्राधिकरणले ३० मेगावाट विद्युत् दिनेगरी लोड स्वीकृत गरेको हो ।

उद्योग आफैले पनि १२ मेगावाट विद्युत् उत्पादन गरेर खपत गर्दै आएको छ । सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी सो बराबरको विद्युत् उत्पादन गर्दै आएको हो ।आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्