Logo

अस्पतालमा अक्सिजन र बेडको अभाव, मृत्युको मुखमा बिरामी



काठमाडौं, बैशाख २९ । नेपालमा कोरोना संक्रमण उच्च गतिमा बढेको छ । सरकारले दोस्रो लहर आउँछ भन्ने विज्ञहरूको भनाइलाई बेवास्ता गरी पूर्वतयारी नगरेकै कारण यति बेला बिरामीहरू अक्सिजन र अस्पतालमा बेड नपाएर धमाधम मृत्युको मुखमा पुग्दै छन् । आम नागरिकले पनि कोरोनाको दोस्रो लहरलाई सामान्य रुघाखोकी हो भन्दै बेवास्ता गर्ने र बिरामी भएको कुरासमेत लुकाउन खोज्दा घरपरिवार नै संक्रमित बन्दै गरेको चिकित्सकहरूको ठम्याइ छ ।

कोरोनाको दोस्रो चरणको यो महामारीमा पहिलाजस्तो एकबाट दुई हुँदै फैलिएको नभई पूरै परिवार नै संक्रमित हुने गरी फैलिएको छ । काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलका सरुवारोग विशेषज्ञ डा विराज कर्माचार्यका अनुसार यसपटक संक्रमितलाई लक्षण देखिनुभन्दा पहिला नै अन्यमा सर्ने गरेको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएअनुसार बितेको २४ घण्टामा २ सय २५ जनाको मृत्यु भएको छ ।

संक्रमण दर आकासिँदै जाँदा देशभरका स्वास्थ्य संस्थामा अक्सिजनको माग पनि बढ्दै गएको छ । यसैबीच काठमाडौं मेडिकल कलेज (केएमसी), मेडिसिटी अस्पताल, ग्राण्डी अस्पताललगायतले मंगलबार सूचना नै निकालेर अक्सिजन अभाव भएकाले तत्काल भर्ना भएका बिरामीसमेत अन्यत्र सार्न लगायो । अक्सिजन अभावका कारण अस्पतालहरूले संक्रमित भर्ना नलिने घोषणा गरिसकेका छन् ।

दोस्रो लहरको कोरोनाका बिरामीलाई पहिलाको दाँजोमा तत्काल अक्सिनको उच्च मात्रा दिनुपर्ने हुन्छ । अक्सिजन नपाएर तुरुन्तै ढल्ने, मुच्र्छा पर्ने र मृत्यु हुनेको संख्या बढेको डा विराज बताउन्छन् । सरकारी अस्पताल टेकु र वीरमा पुगेका थुप्रै बिरामी अस्पताल परिसरमा खाली भुइँ, बेन्च, एउटै बेडमा आलोपालो राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्