Logo

महन्थलाई प्रधानमन्त्री स्वीकारे मात्र ओलीको विकल्पमा बहुमतको सरकार बन्नसक्ने



काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प तयार गर्न जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउनेबारे छलफल बढेको छ । ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्नेमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका केही नेताहरु देखिएका छन् ।

काँग्रेस नेता डा. शेखर कोइरालाले महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीको विकल्प खोज्नुपर्ने प्रस्ताव गरेका छन् । माओवादीका केही नेताहरुले पनि यसबारे छलफल बढाएका छन् । तर, प्रधानमन्त्रीको दौडमा रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले यसमा सकारात्मक जवाफ दिएका छैनन् ।

जसपा अध्यक्ष महन्थ ठाकुरले ओलीविरोधी बहुमतको गठबन्धन बनाउने प्रयासलाई स्वीकार गरेका छैनन् । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव गठबन्धको पक्षमा उभिएका छन् । तर, उनले बहुमतको सरकार गठनका लागि सांसद संख्या पुर्याउन नसक्ने देखिएको छ ।

बहुमत पुर्याउन जसपाभित्र सत्ता समिकरणका लागि एकमत आवश्यक छ । त्यसका लागि महन्थ ठाकुरलाई मनाउनुपर्ने अवस्था छ । उनलाई मनाउने प्रयास भएपनि टसमस भएका छैनन् ।

महन्थलाई प्रधानमन्त्री बनाउन देउवा र प्रचण्ड सहमत भए कुरा मिल्न सक्ने देखिएको छ । त्यस्तो अवस्थामा जसपाका ३२ सांसद नै बहुमतको सरकार गठनको पक्षमा उभिन सक्छन् । काँग्रेसको ६१ र माओवादीको ४९ सांसद जसपाको सांसद संख्यासँग जोडिदा १४२ भई बहुमत पुग्छ । कुल सदस्य संख्या २७५ मध्ये ४ सिट खाली र ४ सिट निलम्बित गरी २६७ मा यो संख्या बहुमत हो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्