काठमाडौं, २९ वैशाख । सत्ता राजनीतिमा यतिबेला ३ सांसदको महत्वपूर्ण भूमिका हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनमा बहुमत पुर्याउन माधवकुमार नेपाल समूहका प्रत्यक्ष निर्वाचित २० सांसद राजीनामा दिन तयार भएपछि ३ सांसद निर्णायक हुने भएका हुन् । ती ३ सांसद जनता समाजवादी पार्टीका हुन् ।
उपेन्द्र यादव समूहमा हाल १६ जना सांसद छन् । २० सांसदको राजीनामा हुने र उपेन्द्र समूहसँग १६ सांसद यताउता नहुने हो भने भोलि साँझ ९ बजेसम्म ओलीविरोधी गठबन्धनले बहुमत पुर्याउन सक्छ । त्यसैले उपेन्द्रबाट ३ सांसद तान्ने प्रयास चलेको छ ।
विश्वस्त स्रोतका अनुसार उपेन्द्र यादव समूहको ३ सांसद तान्ने प्रयास विभिन्न शक्तिबाट भइरहेको छ । गुट परिवर्तन गर्न सक्ने सम्भावित ३ सांसदलाई रोक्न उपेन्द्र यादव र डा.बाबुराम भट्टराई लागेका छन् ।
महन्थ र उपेन्द्रबीच सांसद तानातान (को कुन पक्षमा नामावलीसहित)
महन्थ ठाकुरलाई पनि आफूपक्षीय सांसद जोगाउने र उपेन्द्र यादव समूहका सांसद तान्ने चुनौती बढेको छ । आज रातभर सांसद तानातानको अवस्था देखिएको छ ।
३ सांसद आफ्नो पक्षमा तान्न सके महन्थ ठाकुरको साथमा १९ सांसद हुन्छन् । उपेन्द्र यादवको साथमा १३ मात्र सांसद पुग्छन् । यो संख्या ओलीविरोधी गठबन्धनलाई बहुमत पुर्याउनका लागि पर्याप्त हुँदैन ।
संविधानको धारा ७६ को २ बमोजिमको दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानको समय ३० वैशाखको साँझ ९ बजेसम्मलाई छ । उक्त अवधिसम्म उपेन्द्र यादवलाई १३ भन्दा बढी सांसद पुग्न नदिन ओली समूहको साथमा महन्थ ठाकुर समूह सक्रिय छ । तर, यादव समूहले अहिलेसम्म १६ सांसदलाई पक्षमै पार्न सकिरहेको छ । उनीहरुको साथबाट ३ सांसद खोस्ने प्रयास भइरहेको छ ।
यस्तो छ संसदको अंकगणित
२७ वेशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सकेनन् । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारलिे धारा ७६ को उपधारा २ बमोजिम तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको बहुमतप्राप्त सरकार गठनको आव्हान गरेकी छिन् । ३० वैशाखको साँझ ९ बजेसम्म बहुमतको आधार प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीसम्म पत्र लिएर जाने अवसर ओलीविरोधी गठबन्धनलाई छ । अब समय घर्किइसकेको छ । त्यसेले गठबन्धन दबाबमा परेको छ ।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धन निर्माणमा सक्रिय छन् । तर, जसपाका अध्यक्ष महन्थ ठाकुर गठबन्धनमा सामेल नहुने अडानमा छन् । उनीसँग जसपाको कुल ३२ सांसदमध्ये १६ सांसद साथमा छन् । ठाकुर गठबन्धनमा सामेल नभए ओलीविरोधी बहुमतको गठबन्धन बन्ने सम्भावना कमजोर हुन्छ ।
ओलीविरोधी बहुमतको गठबन्धन बनाउन माधवकुमार नेपालनिकट २८ एमाले सांसदको राजीनामाबाट जाने रणनीति बनेको छ । सम्भवत भोलि विहान नै नेपाल समूहका प्रत्यक्षतर्फ निर्वाचित २० सांसदको राजीनामा आउँछ । माधव नेपाल समूहका रहेका २८ सांसदले राजीनामा दिएपनि प्रत्यक्षतर्फ निर्वाचित भएका २० सांसद पद मात्र खाली हुन्छ । त्यतिबेला नेकपा एमालेको कुल सांसद संख्या घटेर १०१ पुग्छ ।
प्रतिनिधि सभाको कुल २७५ सांसद संख्यामध्ये ४ सदस्य खाली र ४ सदस्य निलम्बित छन् । जसका कारण प्रतिनिधि सभाको हाल रहेको कुल २६७ सांसदबाट बहुमतका लागि १३४ मत ल्याउनुपर्छ । एमाले एक भई अगाडि बढेमा १३ मत पुग्दैन । तर, माधव नेपाल समूहका २० प्रत्यक्ष निर्वाचित सांसदले राजीनामा गरे अंकगणित फरक पर्छ ।
२० सांसदको सिट खाली रहेमा प्रतिनिधि सभामा २४७ सिट बाँकी रहन्छ । बहुमतका लागि १२४ सिट आवश्यक पर्छ । काँग्रेसको ६१ र माओवादी केन्द्रको ४९ गरी ११० सिट पुग्छ । बाँकी १४ सिट आवश्यक पर्छ । उक्त सिट उपेन्द्र यादव पक्षधर जसपाबाट पुग्नसक्छ । यादवसँग अहिले १६ सिट छ । उनले त्यो सिट जोगाउन सके ओलीविरोधी रणनीति सफल हुन्छ । त्यसैले जसपाभित्रको दुई समूहका बराबर सांसदमध्ये उपेन्द्र यादव समूहका ३ सांसद निर्णायक शक्ति बन्न सक्छन् । उनीहरुलाई यसकारण पनि तान्ने प्रयास चलेको हो ।
बहुमत पुग्न नसकेको अवस्थामा फेरि ओली नै प्रधानमन्त्री बन्न सक्छन् । उनी संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतले प्रधानमन्त्री बन्नेछन् ।
यसरी ओली अल्पमतको प्रधानमन्त्री बनेमा तीन दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ । त्यतिबेला उनले विश्वासको मत प्राप्त गर्ने सम्भावना कमजोर देखिन्छ ।
त्यसपछि राष्ट्रपतिले फेरि बहुमत प्राप्त गर्नसक्ने आधार प्रस्तुत गर्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने अवस्था रहन्छ । तर, ओलीको विकल्पमा अर्को प्रधानमन्त्री बन्न घटनाक्रम यु टर्न हुनुपर्छ । कसैले पनि दाबी प्रस्तुत नगरेमा ओली नै प्रधानमन्त्रीमा कायम रहेर ६ महिनाभित्र चुनाव गर्ने गरी अगाडि बढ्ने सम्भावना रहन्छ । उनले ६ महिनाभित्र अर्को चुनाव हुने गरी निर्वाचनको मिति तोक्न सक्नेछन् ।




प्रतिक्रिया