Logo

गण्डकी प्रदेशको घटना ओलीले यता गराउन सक्लान् ?



काठमाडौं, २९ वैशाख । एक सांसद संख्या नपुग्दा गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले बाजी मारे । उनी अल्पमतको सरकारका मुख्यमन्त्री नियुक्त भए । गुरुङ्गले बाजी मार्नुमा उनीविरोधी गठबन्धनमा सहभागी जनमोर्चा नेपालका एकजना सांसद कारण बने ।

जनमोर्चाका कृष्णचन्द्र थापाले काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री मान्न नसकिने भन्दै हस्ताक्षर गर्न मानेनन् । जसका कारण नेपालीले बहुमत सिद्ध गर्न सकेनन् । धारा १६८ को उपधारा १ मा यसअघि मुख्यमन्त्री बनेर बहुमत गुमेपछि राजीनामा दिएका गुरुङ्गले कसैलाई बहुमत बनाउन नदिएर बाजी मारे । उनी उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री बन्न सके ।

गण्डकीकै जस्तो रणनीति प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा बनाएका छन् । उनले आफूविरोधी गठबन्धनलाई बहुमत बनाउनबाट रोक्न खोजिरहेका छन् । त्यसका लागि एमालेका माधव नेपाल पक्षका सांसदलाई राजीनामाबाट रोक्न र जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षधर सांसदलाई महन्थ ठाकुर पक्षधरतर्फ तान्ने प्रयास ओली पक्षधरबाट भइरहेको छ । यसमा उनी सफल भएमात्र संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा सोभन्दा बढी दलको बहुमतप्राप्त प्रधानमन्त्री बन्ने पहल असफल हुनसक्छ ।

बहुमतको प्रधानमन्त्री बन्न कसैले नसके ओली भोलि नै संविधानको धारा १७६ को उपधारा ३ बमोजिम प्रतिनिधि सभामा सबैभन्दा ठूलो दलको हैसियतले प्रधानमन्त्री नियुक्त हुनेछन् । त्यसपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

विश्वासको मत लिन नसके फेरि बहुमतको सरकार गठनको आव्हान हुने प्रावधान संविधानमा छ । त्यसपछि पनि नभए फेरि ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् । त्यसपछि पनि उनले विश्वासको मत लिन नसके देश मध्यावधि चुनावमा जान्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot