Logo

नेपालसहित चार देशमाथि प्रवेशमा रोक



वीरगञ्ज, बैशाख ३० । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसिया, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, जापानलगायतका देशले तत्काल नेपालसहित चार देशका नागरिक प्रवेशमा रोक लगाएका छन् ।

नेपालमा नयाँ भेरिएन्टसहितको कोरोना सङ्क्रमण उच्च जोखिममा रहेको भन्दै नेपालसहित बङ्गलादेश, पाकिस्तान र श्रीलङ्काका नागरिकलाई ती देशमा प्रवेश गर्न रोक लगाएका हुन् । कोरोना सङ्क्रमण रोकथामका लागि प्रवेशमा रोक लगाउने निर्णय भएको त्यहाँस्थित नेपाली राजदूतावासले जानकारी गराएका छन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार मलेसिया सरकारको पछिल्लो निर्णयले कूटनीतिक र सरकारी राहदानी भएकाबाहेक अन्य कुनै पनि भिसामा यी देशका नागरिक मलेसिया प्रवेश गर्न पाउने छैनन् ।

निश्चित समयका लागि रोक लगाइएको भए पनि समय नतोकिएकाले कति लामो हुने हो भन्न नसकिने पनि दूतावासले जनाएको छ । मलेसिया सरकारले यी देशबाट आउने आफ्ना नागरिकलाई समेत अनिवार्य रूपमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने व्यवस्था गरेको छ । नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुँदा मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकको शव पठाउन तथा करार अवधि सकिएका अथवा टिकट लिएका श्रमिकलाई खानबस्न समस्या हुन थालेको दूवावासले जनाएको छ ।

संयुक्त अरब इमिरेटस् ९यूएई० सरकारले पनि बुधबारदेखि नेपालीको प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । यूएईले बुधबारदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि नेपालीलाई प्रवेशमा रोक लगाएको यूएईस्थित नेपाली राजदूतावासले जनाएको छ । यूएईले भारतका नागरिकलाई यसअघि नै प्रवेशमा रोक लगाएको थियो । नेपालसहित चार देशबाट ट्रान्जिट भएर आउने यात्रुले पनि यूएईमा प्रवेश गर्न पाउने छैनन् तर यूएईका नागरिक, कूटनीतिक नियोगका कर्मचारी, यूएईका गोल्डेन रेजिडेन्सी होल्डर्सलगायतले भने यूएई जान पाउने जनाइएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्