Logo

वैकल्पिक सरकारका लागि एमालेका असन्तुष्ट निर्णायक



काठमाडौं, बैशाख ३० । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार गठनका लागि जनता समाजवादीलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । तर, जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा नखुल्दा राष्ट्रपतिले दिएको समय सीमा त्यसै गुज्रिने सम्भावना बढ्दै गएको हो ।

बुधबारसम्म जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेता संविधानको धारा ७६९२० अनुसार नयाँ सरकार गठनको पक्षमा देखिएका छैनन् भने अर्का अध्यक्ष उपेन्द्र यादवसहित नेता नयाँ सरकार गठनको पक्षमा देखिएका छन् । जसपाभित्र सहमति जुट्न नसक्दा वैकल्पिक सरकार गठन हुने सम्भावना कमजोर बन्न पुगेको हो ।

ठाकुरसहितका नेता बिहीबारसम्म नयाँ सरकार गठनको पक्षमा नखुले जसपा कार्यकारिणीको बैठकले बहुमतको आधारमा निर्णय गरेर अघि बढ्ने सम्भावना रहेको नेताहरूको दाबी छ । तर ठाकुर, महतोसहितका नेताले आफूहरू नयाँ सरकार गठनको पक्षमा नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार नै जानकारी गराएका छन् । आफ्नो दलको समर्थनमा सरकार गठनको दाबी पेस भए त्यसलाई स्वीकार नगर्न उनीहरूले आग्रह गरेको स्रोतको दाबी छ ।

संविधानको धारा ७६९२०ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको समर्थनमा संयुक्त सरकार गठन गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कांग्रेस, माओवादी र जसपासहितको दलको समर्थनमा नयाँ सरकारको दाबी गर्ने सम्भावना भने कायमै रहेका नेताहरूले दाबी गरेका छन् । त्यस्तो अवस्थामा राष्ट्रपतिले विवादित जसपाको समर्थनलाई अस्वीकार गर्दै बहुमत सांसदको समर्थनसहित हस्ताक्षर माग गर्न सक्नेछिन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्