Logo

अक्सिजनको अभावः चिकित्सक झनै दबाबमा



काठमाडौं, बैशाख ३० । कोभिडका बिरामीको उपचारमा व्यस्त चिकित्सकलाई यति बेला अक्सिजनको चिन्तासमेत थपिएको छ । अक्सिजनबिना कोभिडका बिरामी बचाउन नसकिने भएपछि चिकित्सकले हारगुहार गर्न थालेका छन् । औषधि र अक्सिजनको सहज आपूर्ति गर्न माग गरिरहे पनि सरकारले नबुझेपछि चिकित्सक आफैं अक्सिजनको खोजीमा दौडिएका हुन् ।

‘सरकारले केही गर्दैन, न त सरकारी अस्पतालको क्षमता ठूलो छ । यस्तो बेलामा विरामीको उपचार गर्दा सरकारको झिनो साथ पनि नपाउनु दुर्दशा हो,’ वीर अस्पतालका एक चिकित्सकले भने, ‘बरु हामीले डिलर र भारतीय अक्सिजन कम्पनीसँग पहल गरेर केही थान भए पनि अक्सिजन सिलिन्डर ल्याएका छौं ।’ उनले महामारीका बेला सरकारको ध्यान नपुग्दा स्वास्थ्य क्षेत्रको बिजोग भएको बताए । अझै पनि सचेत नभए र आवश्यक उपचार सामग्री खरिद नगरे ठूलो क्षति हुन सक्ने उनको भनाइ छ ।

जनस्वास्थ्यबारे बोल्दै आएका डा। रवीन्द्र पाण्डेले महामारीका बेला सरकारले महसुस हुनेगरी काम नगरेको बताए । उनले अबका १५ दिन अझै बढी जोखिमपूर्ण हुने भएकाले सावधान रहनुपर्ने बताए । उनले भने, ‘हामी कोरोनाको निकै जोखिमपूर्ण फेजमा छौं, सरकार पहिलेदेखि नै हारिसकेको छ । आफ्नो ज्यानको ख्याल आफैं गरौं ।’ स्टोर गरेको अक्सिजन सकिन थालेपछि त्रिवि शिक्षण अस्पतालको अवस्था नाजुक छ ।

देशभरका बिरामीको भीड भइरहने यो अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । तर त्यसले थेग्न नसक्ने अवस्था आएको अस्पतालका आवासीय चिकित्सक सन्तोष केसीले बताए । उनले भने, ‘भएभरका बिरामी यहीं छन्, अन्त अक्सिजन नपाएका पनि यहीं आएका छन्, तर अब यहाँ पनि अक्सिजनले नथेग्ने अवस्था भइसकेको छ ।’

यति बेला वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सिभिल अस्पतालमा कार्यरत चिकित्सक अक्सिजन खोज्दैछन् । उनीहरूले पर्याप्त अक्सिजन नहुँदा क्षति बढी हुन सक्ने अवस्था देखिएकाले सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छन् ।

अक्सिजनका कारण उपचारमा बाधा पुग्ने देखिएपछि उपत्यकाका सरकारी तथा निजी अस्पतालले अक्सिजन आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेका छन् । अक्सिजन अभाव भएपछि केही अस्पतालले थप बिरामी भर्ना नगर्ने सूचना पनि जारी गरेका छन् । तर सरकारले कयौं बिरामीको ज्यान गइसक्दा पनि अक्सिजन आपूर्ति सहज बनाउन सकेको छैन । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्