Logo

संक्रमण फैलिने दरमा नेपाल विश्वमै दोस्रो



काठमाडौं, बैशाख ३० । भारतको तुलनामा नेपालमा कोभिड–१९ को लहर बढी खतरनाक देखिएको छ । यहाँ भारतभन्दा बढी अनुपातमा कोभिड पोजिटिभ देखिएसँगै दैनिक मृत्युको संख्यासमेत तुलनात्मक रूपमा धेरै छ ।

एक साताअघि नेपालमा संक्रमण दर विश्वमै धेरै थियो । अहिले भने संक्रमण फैलिने दरमा भियतनामपछि नेपाल दोस्रो स्थानमा छ । हाल भियतनाममा संक्रमण फैलिने दर २.४ छ भने नेपालमा १.६ छ । अर्थात्, नेपालमा १० जना संक्रमितले १६ जनालाई रोग सार्छन् भने भियतनाममा १० संक्रमितले २४ जनालाई रोग सारिरहेका छन् ।

कोभिड सार्ने दरको हिसाबले भारत विश्वमा ३६ औं स्थानमा रहेको काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका महामारीविद् डा। अर्चना श्रेष्ठले बताइन् । नेपालमा कोभिड पोजिटिभिटी दर ४५ प्रतिशत देखिनु ‘डिजास्टर’ अवस्था रहेको उनको भनाइ छ ।

भारतको दाँजोमा तुलनात्मक रूपमा नेपालमा दैनिक संक्रमितको संख्यासमेत उल्लेख्य रूपमा बढी छ । यो साता ५१ प्रतिशतले संक्रमितको संख्यामा वृद्घि देखिएको छ, जुन विश्वमै संक्रमण दरको हिसाबले दोस्रो हो । ‘जनसंख्याको हिसाबले भारतसँग तुलना गर्दा हामीकहाँ बढी जटिल अवस्था देखिएको छ,’ डा श्रेष्ठले भनिन्, ‘दैनिक नयाँ कोभिड संक्रमितको संख्या प्रति १० लाख जनसंख्यामा भारतमा २४० छ भने नेपालमा ३०४ ।’

यस्तै, दैनिक कोभिडले हुने मृत्युको संख्या प्रति १० लाख जनसंख्यामा नेपालमा ३।३ छ भने भारतमा २।५ छ । कोभिड परीक्षण पोजिटिभ देखिने दरसमेत भारतको दाँजोमा नेपालमा दोब्बर देखिन्छ । हाल प्रति १० लाख जनसंख्यामा नेपालमा पोजिटिभ देखिने दर ४५.१ प्रतिशत छ भने भारतमा मात्र २२.६ प्रतिशत छ । जनसंख्याको आधारमा गत वर्षसमेत नेपालमा पोजिटिभ दर भारतभन्दा बढी थियो ।

‘सञ्चारमाध्यममा भारतको तथ्यांक हेर्दा अत्यन्त अत्यासलाग्दो देखिन्छ, त्यहाँभन्दा हामीकहाँ कोभिड बढी क्षति पुर्‍याउने गरी फैलिरहेको छ,’ डा श्रेष्ठले भनिन्, ‘पोजिटिभ दर पनि भारतभन्दा हामीकहाँ दोब्बर छ ।’ कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्