Logo

छटपटाउँदै संक्रमित, बेपर्वाह मन्त्री



लहान, बैशाख ३१ । सरकारको अत्यासलाग्दो निष्क्रियताका कारण प्रदेश २ मा पनि कोरोना संक्रमित सर्वसाधारण छटपटाएर ज्यान गुमाउँदै छन्। प्रदेशका स्वास्थ्य केन्द्र चुस्त र दुरुस्त पार्ने जिम्मेवारीमा रहेका सामाजिक विकासमन्त्री भने लाचारी प्रदर्शन गर्दै कमजोरी ढाकछोपमा व्यस्त देखिन्छन्। सामाजिक विकासमन्त्री नवलकिशोर साहको पछिल्ला गतिविधिबाट उनी कोरोना संकटप्रति बेपर्वाह देखिएको पुष्टि हुन्छ। साह बुधबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई लिएर दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकास्थित विभिन्न मन्दिर तथा पर्यटकीय स्थल घुमफिरमा व्यस्त भए।

मन्त्रीद्वयको व्यस्तता सप्तरीस्थित बैरवाको विवाह मण्डप, योगिनियाको बोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षणमा देखियो। प्रदेशको स्वास्थ्य अवस्थाको जिम्मेवारी समालेका सामाजिक विकासमन्त्री साहको गृहजिल्ला सप्तरीमा कोरोना संक्रमण तथा मत्युदर डरलाग्दो गरी बढेको छ। संक्रमितको एकमात्र सहारा गजेन्द्रनारायण सिंह अस्पतालको अवस्था बेहाल छ। आइसियु र भेन्टिलेटर सेवा सञ्चालन गर्ने जनशक्ति संक्रमित भएर आफैंं उपचारमा छन्।

संक्रमितले अक्सिजनको भरमा जेनतेन सास फेरिरहेका छन्। तर मन्त्री साहले यो बेहाल यस प्रदेशमा मात्रै हो र भन्दै निरीहता प्रदर्शन गरिरहेका छन्। ‘हामीले आफ्नो औकातले भ्याएसम्म सबै गरेका छौं,’ उनले नागरिकसँग भने, ‘तीनवटा भेन्टिलेटरबाट ६५ वटा भेन्टिलेटर जोड्न सफल भयौं। एउटै पिसिआर नभएको अवस्थामा सबै जिल्लामा पिसिआर मेसिन जोड्यौं। अस्पतालहरूको स्तरवृद्धि गरेका छौं।’ उनले भनेका यी कार्य प्रदेश सरकारले गत वर्ष नै गरेको हो। अस्पतालहरूको स्तरवृद्धिको निर्णय भयो तर जनशक्ति छैन। भेन्टिलेटर थपियो तर सञ्चालन गर्ने जनशक्ति छैन।

कोरोनाको पहिलो लहरमै मनिपाल अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने निर्णय भएको थियो तर सामाजिक विकास मन्त्रालयले अहिलेसम्म पनि निर्णय कार्यान्वयन गर्न सकेको छैन। मन्त्री साह भन्छन्, ‘रातारात अस्पताल निर्माण गर्ने र जनशक्ति पैदा गर्ने हाम्रो औकात छैन। तीन वर्षमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान बनायौं,’ उनले भने, ‘अब बिस्तारै मेडिकल जनशक्ति पैदा हुन्छ।’ प्रादेशिक अस्पतालमा आवश्यक स्वास्थ्य संरचना, सामग्री र जनशक्ति अभावका कारण उपचारमा बाधा पुगेको छ। समस्या समाधानतर्फ सम्बन्धित मन्त्रीहरूको चासो पनि देखिँदैन। उनीहरू मन्दिर र पोखरी सौन्दर्यीकरणकै शिलान्यासमा व्यस्त देखिन्छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्