Logo

भारत इंगित बाबुरामको टिप्पणी-‘हामी सबैका मित्र हौं, कसैका दास होइनौं’



काठमाडौं, १२ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्ना पार्टीका नेताहरुलाई संविधान पूरै खाली गर्ने शक्तिका मतियार बन्न नहुने सुझाव दिएका छन् । उनले नेपालको संविधान आधा भरी आधा खाली गिलास भन्दै आफूहरु पूरै भर्न हिँडेको उल्लेख गर्दै अहिले पूरै खाली गर्ने शक्तिको मतियार बन्न नसक्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेको छन्-“जसपाका नेता साथीहरूको स्मरणार्थ:१.यो संविधान आधा भरी आधा खाली गिलास भन्दै पूरै भर्न हिॅडेका हामी पूरै खाली गर्ने शक्तिका मतियार बन्नसक्दैनौं;२.जसपा हिमाल/पहाड/मधेस जोड्ने वैकल्पिक शक्ति हो कुनै एक क्षेत्र/जातिमा सीमित पुरानैको डुप्लिकेट हैन;३.हामी सबैका मित्र हौं कसैका दास हैनौं!”

पार्टीभित्रको आन्तरिक विवाद चुलिएको अवस्थामा डा. भट्टराईको यस्तो भनाई आएको हो । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनावको मिति घोषणा गरेपछि विपक्षी गठबन्धन राजनीतिक र कानूनी लडाईँमा छ । तर, जसपामा भने अध्यक्ष उपेन्द्र यादव र नेता भट्टराई समूहमात्रै विपक्षी गठबन्धनमा सहभागी छ । अर्का अध्यक्ष महन्थ ठाकुर भने प्रधानमन्त्री ओलीको पक्षमा उभिएको छ ।



प्रतिक्रिया दिनुहोस्