Logo

आगलागीमा करिब छ लाखको क्षति



लहान, २४ जेठ: सिरहाको लहान नगरपालिका–१७ गोविन्दपुरमा आगलागी हुँदा करिब रु छ लाखको सामान जलेर नष्ट भएको छ । स्थानीय पुष्पादेवी रामको घरमा हिजो साँझ आगलागी हुँदा रामको दुई वटा घर जलेर नष्ट हुँदा करिब डेढ लाख नगदसहित करिब रु छ लाखको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परी श्रीमान्ले विदेशबाट साहुको ऋण तिर्न पठाएको नगद रु एक लाख, एक थान ल्यापटप, एसीडी, तीनवटा खसी बाख्रा र घरभित्र रहेको सम्पूर्ण खाद्यान्न तथा लत्ताकपडा जलेर नष्ट भएको पीडितले बताएका छन् । आगलागीको कारण पत्ता नलागे पनि विद्युत चुहिएर भएको हुनसक्ने इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए ।

लागुऔषधसहित एक युवक पक्राउ

प्रहरीले प्रतिवन्धित लागुऔषधसहित एक युवकलाई लहानबाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लहान–२० मिलनचौक नजिकबाट लागुऔषधसहित सिरहाको नवराजपुर गाउँपालिका–१ निवासी ३२ वर्षीय पशुपति यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका यादवको साथबाट ३० बोतल प्रतिबन्धित लागुऔषध डाइलेक्स डिसी बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए ।

पोखरीमा डुबेर बालिकाको मृत्यु

लहान–१५ स्थित पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी बमभोली दासकी अन्दाजी पाँच वर्षीया छोरी कृतिका दास रहेको प्रहरीले जनाएको छ ।

पोखरी छेउमा खेल्दै गर्दा पोखरीमा खसेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्