Logo

मातातिर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान



काठमाडौं, २५ जेठ । चन्द्रागिरी नगरपालिका वडा नं ८ स्थित् मातातिर्थ सामूदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । भक्तपुरको लोकन्थलीमा रहेको श्री मुनरक ईन्टरनेश्नल प्रा.ली.ले उक्त प्लान्ट सम्झौता गरिएको मितिले २० दिनभित्र सम्पन्न गर्नुपर्नेमा उक्त कम्पनीले १२ दिन अघि नै काम सम्पन्न गरेको हो ।

श्री मुनरक ईन्टरनेश्नल प्रा.लीका प्रवन्ध निर्देशक ई प्रशान्त झाले अक्सिजनको अभाव हुन नदिनको लागि आफूहरुले देशभरि नै छिटो भन्दा छिटो सेवा प्रदान गर्दै आएको र आगामी दिनमा पनि कामको यही गतिलाई निरन्तरता दिने स्पष्ट पारे ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तोष खड्काले निर्माण सम्पन्न भएको उक्त प्लान्टको आज एक कार्यक्रमका बीच नेपाल सरकारका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङले उद्घाटन गर्ने जानकारी दिए ।

प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताको ४० देखि ४८ वटा सिलिण्डर उत्पादन गर्छ । प्लान्ट जडान भएर उत्पादन सुरु भएसँगै चन्द्रागिरी नगरपालिकालाई अक्सिजनमा आत्मनिर्भर हुने जनप्रतिनिधिहरुले बताएका छन् ।

पछिल्लो समय अक्सिजनको चरम अभाव भएको कारण कोरोना संक्रमितहरुले मृत्युवरण गर्नुपरेको थियो । अक्सिजन अभावकै कारण कोही पनि विरामीले मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले अक्सिजन प्लान्ट जडान गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्