Logo

गणेश लामा पोखरामा पक्राउ



काठमाडौं, २७ जेठ । ग्याङस्टरको परिचय बनाएका गणेश लामा पक्राउ परेका छन् । उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई नियन्त्रणमा लिएको पुष्टि गरेको छ । लामालाई वैद्यामस्थित प्रहरी प्रभागमा राखिएको कास्कीका एक प्रहरी अधिकारीले बताए । निषेधाज्ञाको बेलामा काठमाडौंबाट पोखरा आएकोले गणेश लामालाई नियन्त्रणमा लिइएको हो, ती प्रहरी अधिकृतले भने ।

लामा पछिल्लो समय नेपाली काँग्रेसमा छन् । उनी काँग्रेस उपसभापति विजयकुमार गच्छेदारसँग नजिक छन् ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विश्वासको मत लिने अघिल्लो दिन बुधबार साँझ लामा पोखरा पुगेका थिए । उनले गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दिपक मनाङेसँग सत्ताराजनीतिका विषयमा छलफल समेत गरेका थिए ।

आज विहान गणेश लामा र दिपक मनाङे सँगै रहेको र दिउँसोबाट मनाङे सम्पर्कविहिन भएका थिए । उनी विश्वासको मतका लागि मतदानमा समेत अनुपस्थित भएका थिए । लामाको पक्राउलाई यही घटनासँग जोडेर हेरिएको छ ।

यसैगरी, काँग्रेसका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन मनाङेलाई पक्षमा पार्न गणेश लामा नै खटिएको बुझिएको छ ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिए ३१ मत पुग्छ । उनलाई ३० सांसदको समर्थन छ । अब एक सांसद निर्णायक हुन्छन् ।



प्रतिक्रिया दिनुहोस्