Logo

ईश्वर पोख्रेल पार्टी काममा सक्रिय, ओलीपछि अध्यक्ष बन्ने तयारी



काठमाडौं, २८ जेठ । उपप्रधानमन्त्रीबाट विदा भएपछि नेकपा (एमाले) का महासचिव ईश्वर पोख्रेल पार्टीको काममा व्यस्त भएका छन् । आगामी दशौं महाधिवेशनमा नेतृत्वमा दाबी गर्नेगरि उनले तयारी थालेको निकटस्थहरुको दाबी छ । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले आफूपछि कसलाई नेतृत्वमा ल्याउँछन् ? वा आँफै पूनः नेतृत्वमा आउँछन् भन्नेबारे केही खुलाएका छैनन् । तर, पोख्रेलसँगै पार्टी नेतृत्वको रेसमा उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल पनि छन् ।

दुवै नेता अध्यक्ष ओली क्याम्पमा छन् । पार्टीमा पोख्रेललाई भन्दा पौडेललाई रुचाउने नेता बढि छन् । पार्टीभित्र माधव नेपाल र झलनाथ खनाल पक्षसँग अन्तरविरोध चुलिएको बेला अप्ष्ठ्यारो ओलीलाई पोख्रेल र पौडेलले दुवैले दरिलो साथ दिएका छन् । प्रधानमन्त्रीनिकट स्रोतकाअनुसार आगामी दशौं महाधिवेशनमा नेतृत्वमा पौडेललाई अघि सार्ने ओलीको तयारी छ ।

आफूसहित पहिलो पुस्ताका नेताहरु अब अभिभावकीय भूमिकामा बस्नुपर्ने ओलीको चाहना छ । हुन त ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरुले पनि अहिले पार्टी एकताको लागि दोस्रो पुस्ताका नेतालाई नेतृत्वमा स्थापित गरेर अध्यक्ष ओलीसहित वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोख्रेललाई अभिभावकीय भूमिका राख्नुपर्ने प्रस्ताव राखेका छन् । तर, उनीहरुको प्रस्तावमा नेता नेपाल सकारात्मक छैनन् ।

ओली सरकारमा सुरुमा पोख्रेल उपप्रधान एवम् रक्षामन्त्री बने । पछि उनको रक्षामन्त्रीको जिम्मेवारी खोसिएको थियो । लामो समयसम्म उनलाई ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा थन्काएर राखेको चर्चा पनि चलेको थियो । पछिल्लो समय ओलीले जसपालाई समेटेर मन्त्रिपरिषद पूनर्गठन गर्दा पोख्रेल लाई थाहै नदिई बर्खास्त गरेको पनि गाईंगुँई छ । तर, पोख्रेल आँफैले भने त्यो हल्लामा सत्य नभएको निकटहरुसँग बताउने गरेका छन् । उनले आफू पार्टीमा सक्रिय हुनेगरि सरकारबाट बाहिरिएको बताउने गरेका छन् ।

सरकारबाट बाहिरिएपछि उनी पार्टी काममा सक्रिय भएका छन् । आजमात्रै उनी पार्टीको बागमती कमिटीको भर्चुअल माध्यमबाट आयोजित बैठकमा सहभागी भए । केही दिन पहिले उनले पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीले सदभाव स्वरूप पठाएको स्वास्थ्य सामाग्रीहरू स्वास्थ्यमन्त्री शेरबहादुर तामाङमार्फत नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । उक्त सामाग्री हस्तान्तरण गर्दा पोख्रेलले भनेका थिए,‘सम्पूर्ण जनता समक्ष पुगोस् भन्ने उद्देश्यले पार्टीलाई प्राप्त स्वास्थ्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। हाम्रो यो सहयोगले कोरोनाविरूद्दको लडाईंमा नेपाल सरकारलाई थोरै भए पनि मद्दत पुग्ने विश्वास लिएका छौं ।’

उनले पछिल्लो समय नेतृत्व हस्तान्तरणको विषय पनि जोडतोडले उठाउन थालेका छन् । सरकारबाट बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत पार्टीको काममा सक्रिय हुने लेखेका थिए । उनले भनेका थिए–साथीहरू सबैलाई थाहा छ- म नेकपा ( एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव – तर “महान र ऐतिहासिक” भनिएको एमाले- माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन ! तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले- माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुन: एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु – म पार्टीको महासचिव भएर पुन: भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ । पार्टीका आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसित यस सम्वन्धमा कुराहरू भएका छन् । उहाँले मलाई परिस्थितिको गम्भीरता बारे बताउँदै आउनुभएको पनि छ र मैले उहाँको अन्तरआशयलाई राम्ररी बुझ्ने प्रयत्न पनि गर्दै आएको छु।”

पोखरेले अघि भनेका थिए,‘अहिले कतिपयले भन्ने गरेजस्तो “सबैतिर छ पार्टी – तर कहिं पनि छैन पार्टी” जस्तो अवस्थालाई बदल्नुपर्ने चुनौती छ । र, यो बदल्ने अभियान संचालन गर्ने संस्थाको महासचिव भएर मैले भूमिका खेल्नुपर्ने छ । दुर्भाग्य नै हो – यतिवेला पार्टीभित्रको एकतामा पनि संकट देखापरेको छ । यसबाट पार्टीलाई जोगाउनुपर्ने आवश्यकता छ । चुनौतीहरू थुप्रै किसिमका छन् । राष्ट्रिय राजनीतिमा अस्थिरताका झन्झावातका आशंकाले मानिसहरूमा त्रास सृजना गराउन खोजिदैछ । आर्थिक विकास र सम्वृद्धिको अभियानलाई कमजोर पार्ने , राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू हुँदैछन् र ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ । यस्तोबेलामा सिंगो राष्ट्रले/आम नेपाली जनताले नेकपा (एमाले)प्रति – सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको कुरालाई बुझ्न सकिन्छ । यो आवश्यकतालाई पुरा गर्ने चुनौतीपूर्ण उद्देश्यद्वारा निर्देशित हुनुपर्ने छ । यसका लागि पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक, शुभचिन्तक मित्रहरूलाई गोलवन्द हुन हार्दिक अनुरोध गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्