Logo

सभामुखले बोलाएको सर्वदलीय बैठक सम्पन्न, कसले के भने ?



काठमाडौं, २८ जेठ । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । आजको छलफलमा सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था र अब कसरी अघि बढ्ने ? भन्नेबारे धारणा राखेका थिए । बैठकमा सहभागी नेता दीपक बोहराले आजको छलफलमा कुनै निश्कर्ष र निचोड नआएको स्पष्ट पारे ।

उनले भने-“आजको छलफलमा केही निचोड पनि केही निस्किएन । संसद् पूनःस्थापनाबारे चर्चा भएको थियो । हाम्रो पक्षबाट संसद् विघटनसम्बन्धी मुद्दा अदालतमा भएकोले यस विषयमा अहिले छलफल नगरौं भनियो । बरु, जनतालाई खोपको व्यवस्था गर्नुपर्ने कुरा उठाईयो । त्यस्तै, ढुंगा, गिट्टी र बालुवा भारत निकासी रोक्नुपर्छ भनियो । विघटनबारे अन्तिम आदेश आएपछिमात्रै धारणा राख्ने कुरा पूर्व प्रधानमन्त्रीहरुले राख्नुभयो ।”  उनले सभामुख सापकोटाले अहिलेको परिस्थिति, संसद् विघटन भएको अवस्थामा के गर्दा उचित हुन्छ भन्ने कुरा राखेको सुनाए ।

बैठकबाट बाहिरिने क्रममा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले संविधान र व्यवस्था नै असफल पार्ने षड्यन्त्र भैरहेको प्रतिक्रिया दिए । सरकारले चुनाव गर्नको लागि चुनावको मिति घोषणा नगरेको पनि उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्