Logo

मनाङेलाई मनाएर पोखराबाट फर्किए गणेश लामा



पोखरा, २८ जेठ । गण्डकी प्रदेशमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपालीको पक्षमा दिपक मनाङेलाई ल्याउने भूमिका खेलेर गणेश लामा पोखराबाट काठमाडौंतर्फ लागेका छन् । मनाङेले नेपालीको पक्षमा हस्ताक्षर समेत गरेर प्रदेश प्रमुखको कार्यालय पुग्ने अवस्था बनाएपछि लामा फर्किएका हुन् ।

लामा २६ जेठको राति पोखरा पुगेर मनाङेलाई भेटेका थिए । काँग्रेस कार्यकर्ता समेत रहेका लामाले आफूलाई पार्टीले जिम्मेवारी दिएको समेत बताएका छन् । राजनीतिक उद्देश्यले पुगेका लामालाई बिहिबार कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी आज रिहा भएका थिए ।

यसअघि पृथ्वी सुब्बा गुरुङको सत्ता संकट टार्न दिपक मनाङेले निर्णायक भूमिका खेलेका थिए । यसपटक मनाङेले पृथ्वी सुब्बा गुरुङको साथ छाडिदिएका छन् । उनलाई नेपालीको पक्षमा पार्न गणेश लामाले भूमिका खेलेका थिए ।

एक महिनाभित्र दुईपटक मन्त्री बनेका मनाङेले कृष्णचन्द्र नेपालीलाई साथ दिएका छन् । उनको एक मतले नेपालीको बहुमत दाबी पुगेको छ ।

विजयकुमार गच्छेदारको निर्देशनमा उनी २६ जेठको साँझ पोखरा हान्निएका थिए । १० बजे राति पुगेर रातारात मनाङेलाई भेटेका थिए । उनले काँग्रेसका केही प्रभावशाली नेताहरुसँग मनाङेलाई सम्पर्क पनि गराएका थिए । मनाङे राजनीतिक लेनदेनपछि राजी भएको बुझिएको छ ।

कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङेले कृष्णचन्द्र नेपालीको पक्ष लिएपछि ३१ मत पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्