Logo

गण्डकी प्रदेश सभा विघटन गरी मध्यावधि चुनाव घोषणाको तयारी



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग र नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली दुवैले बहुमतको दाबी गरेपछि त्यहाँको राजनीति रोचक मोडमा पुगेको छ । नेपालीले शुक्रबार नै सशरीर ३१ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्रीको दाबी पेश गरेका थिए ।

आज नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङ्गले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता दाबी गरेका कृष्ण थापा र जनता समाजवादी पार्टीको महन्थ ठाकुर खेमाको समर्थनको हस्ताक्षरसहित बहुमतको दाबी पेश गरेका हुन् । यसलाई केन्द्र सरकारमा शेरबहादुर देउवा र केपी शर्मा ओलीले एकैपटक बहुमतको दाबी गरेको जस्तै देखिएको छ ।
अब प्रदेश प्रमुख सीता पौडेलले कुनैपनि पक्षको बहुमतको दाबी नपुगेको भन्दै प्रदेश सभा विघटन गरी मध्यावधि चुनाव घोषणा गर्ने सम्भावना देखिएको छ ।

पौडेलले शुक्रबार २४ घन्टा समयावधि तोकेर संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्ति गर्ने प्रायोजनको लागि बहुमत दाबी गर्न आव्हान गरेकी थिइन् । उनले अर्को प्रदेश मन्त्रिपरिषद् गठन नभएसम्म गुरुङ्गलाई मुख्यमन्त्रीको कार्य गर्ने गरी तोकेकी थिइन् ।

विश्वस्त स्रोतका अनुसार प्रदेश प्रमुख पौडेलले कसैको पनि मुख्यमन्त्रीमा दाबी नपुगेको भन्दै संविधानको धारा १६८ को उपधारा ७ बमोजिम मुख्यमन्त्रीको सिफारिसमा प्रदेश सभालाई विघटन गरी अर्को प्रदेश सभाको निर्वाचनको मिति तोक्ने तयारी गरेकी छिन् । यसरी केन्द्र सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई मध्यावधि चुनावमा लगे जसरी गण्डकी प्रदेशमा पनि मध्यावधि चुनाव घोषणा गर्ने तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्