Logo

बाबुरामनिकट गण्डकीका सांसदमाथि महन्थको दाबी



काठमाडौं, २९ जेठ । गण्डकी प्रदेशमा जनता समाजवादी पार्टीका २ प्रदेश सभा सांसद छन् । दुवै सांसद नयाँ शक्ति पार्टीबाट विजयी भएका हुन् ।

हरि शरण आचार्य गोरखा क्षेत्र नं १ को क बाट निर्वाचित प्रदेश सभा सांसद हुन् । उनी नयाँ शक्तिको चुनाव चिन्ह आँखाबाट निर्वाचित भएका हुन् ।

प्रदेश सभामा धनमाया पोखरेल लामा समानुपातिकतर्फ निर्वाचित प्रदेश सभा सांसद हुन् । उनी पनि गोरखाकै हुन् ।

नयाँ शक्ति सुरुमा सघीय समाजवादी पार्टीसँग एकीकृत भई समाजवादी पार्टी नेपाल बन्यो । त्यसपछि राष्ट्रिय जनता पार्टीसँग एकीकृत भई जनता समाजवादी पार्टी बन्यो । नयाँ शक्तिका गण्डकीका दुई प्रदेश सभा सांसद जसपाका सांसद भए ।

अहिले जसपा विभाजित छ । महन्थ ठाकुर खेमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी छ । उपेन्द्र यादव खेमा ओलीविरोधी विपक्षी गठबन्धनमा छ । डा. बाबुराम भट्टराई पनि यादवसँगै ओलीविरोधी खेमामा छन् ।

अहिले गण्डकी प्रदेशको सत्ता संघर्षमा जसपाका दुवै सांसद हरि चरण आचार्य र धनमाया पोखरेल विपक्षी गठबन्धनका मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीके पक्षमा छन् । तर, जसपाको महन्थ ठाकुर पक्षले आज प्रदेश प्रमुखलाई पत्र लेखी समर्थन पृथ्वी सुब्बा गुरुङ्गलाई भएको जनाएको छ । बाबुरामनिकट सांसदहरु महन्थ ठाकुर खेमाले आफ्नो हो भनी दाबी गरी पत्र नै पठाउनुलाई रोचक मानिएको छ । यही पत्रका आधारमा प्रदेश प्रमुख सीता पौडेलले कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री नबनाउने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्