Logo

ईन्द्र बानियाँले भने–‘नरोत्तम बैद्यलाई फौजदारी कसुर लगाएर पक्राउ गरिए प्रतिकारमा उत्रिन्छौं’



काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्र बानियाँले आफ्नो पार्टीका प्रदेशसभा सदस्य नरोत्तम बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै त्यसको विरोध जनाएका छन् । उनले प्रदेशसभामा बोलेको विषयमा सांसद बैद्यले प्रदेशसभाको बैठकबाटै माफी मागेर आत्मालोचना गरिसकेको विषयमा सरकारले फौजदारी कसुर लगाएर गिरफ्तार गर्न खोज्नु गलत हुने पनि बताएका छन् ।

आज (सोमबार) पत्रकार सम्मेलनमार्फत नेता बानियाँले संविधानअनुसार पनि बैद्यमाथि फौजदारी कसुर आकर्षित नहुने धारणा राखे । उनले फसाउने षड्यन्त्रका साथ कसुर लगाएर पक्राउ गरिए कांग्रेसले सशक्त रुपमा प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् । उनले भने,‘माननीय नरोत्तम बैद्यजीले गल्ती स्विकारेर आफ्नो शब्द संसदको रेकर्डबाट हटाउन भनिसक्नुभएको छ । तर, षड्यन्त्र गरेर पक्राउ गरिए कांग्रेसले चुप लागेर बस्दैन् । हामी प्रतिकारमा उत्रिन्छौं ।’

जिल्ला प्रहरी कार्यालय मकवानपुरले सांसद वैद्यविरुद्ध एमाले कार्यकर्ताले दिएको उजुरी हिजोमात्रै दर्ता गरेको छ । संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँबाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने उल्लेख छ । संविधानको धारा १८७ (१) मा प्रदेशसभाभित्र पूर्ण वाक स्वतन्त्रताको हक हुने सुनिश्चित गर्न व्यक्त विचारलाई लिएर कुनै सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा अदालतमा कारबाही चलाउन पाइँदैन भन्ने उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्