Logo

नवनियुक्त पर्यटनमन्त्री अरगरियाको वायुसेवा निगमलाई सुधारको ठोस कार्ययोजना ल्याउन निर्देशन



काठमाडौं, ३१ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन् । सोमबार काठमाडौको न्युरोडस्थित् निगमको कार्यालयको अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरेजस्तो निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन् ।

उनले निगममा देखिएको कमीकमजोरी सच्चाउन एक साताको समय दिदै त्यसपछि आफुले हस्तक्षेप गर्ने चेतावनी दिए। निगमसंग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदाहुदैपनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले बिगत एकबर्षदेखि आन्तरिक उडान नहुनुको बस्तुनिष्ट कारण खोजिने उल्लेख गरे ।

कोरोनाले हवाइसेवामा पारेको असरबाट जुध्न र यसबाट निगमलाई पार लगाउन सरकारको मुखमात्र नताकि निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिदै मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए ।

त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्र निगमको हित हुने भन्दै कर्मचारीको बिज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निगमलाई निर्देशन दिए । उनले बिगतको कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजारहिस्सामा स्वामित्व जमाउन आक्रमण ढंगले लाग्न पनि निर्देशन दिए ।

सो क्रममा निगमका महाप्रवन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्ययोजनाका बारेमा जानकारी गराएका थिए । निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको र त्यसमा सरकारको सहयोग चाहिने उनले बताए । कोरोनाको दोश्रो संक्रमणका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको जिकिर जनाएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्