Logo

स्थानीय तहको बजेट प्रक्रियाः बजेट तयारीका लागि समय अपुग



काठमाडौं, असार ५ । कोरोना महामारीको चुनौती कम नभएका कारण स्थानीय तहको बजेट निर्माण प्रक्रिया पूरा गर्न समस्या देखिएको छ । प्रदेशले बजेट पेस गरेको १० दिनभित्रै बजेट तयार गर्नुपर्ने भएकाले पनि स्थानीय तहलाई बजेट निर्माण गर्न हतारहतार हुने गरेको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका महासचिव बङ्शलाल तामाङले प्रदेश सरकारले असार १ गते बजेट ल्याएपछि मात्रै स्थानीय तहले प्राप्त गर्ने वित्तीय हस्तान्तरणको रकम थाहा हुने भएकाले असार १० गतेभित्र सबै स्थानीय तहले आगामी वर्षको नीति, कार्यक्रम र बजेट तयारी गर्न पर्याप्त समय नहुने बताए ।

उनले भने, “स्थानीय तहको बजेट निर्माणको प्रक्रिया लामो हुन्छ । प्रदेश सरकारको बजेट निर्माणपछि मात्र स्थानीय तहको बजेट निर्माण हुने भएकाले स्थानीय तहको बजेट निर्माणका लागि समय कम हुने गरेको छ । ” उहाँले स्थानीय तहको बजेट आ–आफ्नो सभामा पेस गर्ने समय सीमा कम्तीमा एक महिना हुँदा मात्र बजेट निर्माणमा सहज हुने बताए ।
सङ््घीय सरकारले जेठ १५ गते बजेट पेस गरेपछि प्रदेश सरकारको बजेट निर्माण गर्न १५ दिन पाउने गर्छ । प्रदेश सरकारले बजेट पेस गरेपछि स्थानीय तहले १० दिनभित्रै बजेट निर्माण गरिसक्नुपर्ने हुन्छ । सङ्घीय र प्रदेश सरकारले विभिन्न अनुदान र राजस्व बाँडफाँटको रकम स्थानीय तहलाई दिनुपर्छ । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्