Logo

होटलको २० अर्ब लगानी जोखिममा



दमक, असार ६ । पूर्व–पश्चिम राजमार्गको उत्तरतर्फ रहेको दमकको थकाली किचनमा दिनभर जतिखेर गए पनि खान पाइन्थ्यो । होटल एकछिन पनि खालि हुँदैनथ्यो । दुई महिनादेखि होटल पूर्ण रूपमा बन्द छ । होटलका कर्मचारीहरू भने अहिले त्यहीँ खाना खाएर दिन कटाइरहेका छन् ।

“बैङ्कको ब्याज तिर्न र कामदारलाई आकर्षक सुविधा दिन पनि कुनै चिन्ता थिएन र कमाइ चित्तबुझ्दो नै थियो,” होटल सञ्चालक दिवस राई भन्नुहुन्छ । उहाँका अनुसार प्रतिकूल अवस्थामा पनि कामदारलाई राखिराख्नु परेको छ । बिदाइ ग¥यो भने भोलि नआउने र नपाउने चिन्ता हुन्छ । त्यसैले कमाइ नभए पनि खान, बस्न र केही तलब त दिनै परेको उहाँको भनाइ छ । दमकमा मात्र नभएर उहाँले बिर्तामोडमा पनि शाखा विस्तार गर्नुभएको थियो भने इलाममा सञ्चालनको तयारी थियो तर निषेधाज्ञाले अहिले उहाँलाई समस्या भएको छ । “एक वर्षअघिको पीडा अलि कम हुँदै गएको समयमा फेरि सुरु भएको कोभिड र निषेधाज्ञाले उस्तै बनायो,” उहाँले भन्नुभयो ।

दमकको पाथीभरा होटल एन्ड लज पनि दमकको चल्तीको मानिन्छ । अहिले यो होटल पनि पूर्ण रूपमा बन्द रहेको छ । एक वर्षदेखि अहिलेसम्म होटल नचलेको सञ्चालक पुष्प खनालले बताउनुभयो । खान र बस्नका लागि व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने होटललाई अहिले त बैङ्कको ब्याज पनि कसरी तिर्ने भन्ने भएको छ ।

होटल तथा पर्यटन व्यवसायी महासङ्घका प्रदेश १ का अध्यक्ष राजन दङ्गालका अनुसार राज्यले ध्यान नदिने हो भने र होटल तथा लज व्यवसायीहरूको समस्या नबुझ्ने हो भने अर्बौं लगानीको व्यवसाय चौपट हुनेछ । ठूलो लगानीमा खुलेका होटल तथा लजको लगानी डुबेर व्यवसायीहरू पलायन बन्ने खतरा रहेको उहाँले बताउनुभयो ।

“भाडामा लिएर चलाइएको होटल र त्यहीमाथि बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्था हुँदा अब व्यवसाय छाडेर हिँड्नुको विकल्प के रहन सक्छ र रु” दमकमा नै होटल व्यवसाय गर्दै आउनुभएका दङ्गालले भन्नुभयो । होटलका कामदारलाई तलब दिएर अहिले पनि राखिराख्नु परेको र कोठाभाडा पनि तिर्नुपरेको उहाँको भनाइ छ । बैङ्कले पनि ताकेता गर्न नछाडेको उहाँ बताउनुहुन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्