Logo

कर मिनाहाको माग गर्दै होटल तथ पर्यटन व्यवसायीले बुझाए ज्ञापनपत्र



वीरगञ्ज, असार ८ । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायीले कर तथा शुल्क मिनाहाको माग गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि पटकपटक लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका कारण व्यवसाय धराशयी हुने अवस्थामा पुगेको भन्दै होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको हो ।

व्यवसायीले होटल, पार्टी प्यालेस र पर्यटन व्यवसायको सम्पत्ति कर, घरबहाल कर र व्यवसाय कर मिनाहा गर्न महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले सरसफाइ शुल्कसमेत मिनाहा हुनुपर्ने बताएका छन् ।

भारतीय सिमानासँग जोडिएका वीरगञ्ज र आसपासका क्षेत्रका होटल र पर्यटकीय क्षेत्र कोरोना महामारी शुरू भएदेखि नै संकटमा परेको संघका अध्यक्ष हरि पन्तले बताए । २०७६ चैत ११ देखि लगाइएको बन्दाबन्दी र निषेधाज्ञा ६ महीनामा खुले पनि सिमानाबाट आवागमन सहज नहुँदा व्यवसाय तंग्रिन नसकेको र पुनः गत वैशाखदेखि लगाइएको निषेधाज्ञाले मारमा परेको पन्तको भनाइ छ ।

विगतमा बन्दाबन्दी खुले पनि सरकारले लामो समयसम्म सीमाबाट सवारी आवागमनमा रोक कायमै राखेको थियो । कोरोना महामारीका कारण उत्पन्न संकटले ऋणको ब्याज, किस्ता र भाडामा रहेका होटलले घरभाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको व्यवसायीको गुनासो छ ।

होटल तथा पर्यटन क्षेत्रमा कार्यरत सञ्चालक र कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि संघले माग गरेको अध्यक्ष पन्तले बताए । संघको ज्ञापनपत्र बुझ्दै प्रमुख सरावगीले कोरोना महामारीका कारण होटल तथा पर्यटन क्षेत्रले भोगेको समस्याप्रति आफू संवेदनशील रहेको बताए । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्