Logo

‘न्युजविक’मा छापिएको नेपाली नेताको पहिलो अन्तर्वार्ता



प्रसिद्ध अमेरिकी पत्रिका ‘न्युजविक’मा १९९१ मे २७ को अंकमा प्रकाशित मिकेल लिट्विनले ‘नेपालमा कार्लमार्क्स जीवित छन्’ शीर्षकमा मदन भण्डारीसँग लिएको अन्तर्वार्ता रोचक छ । यसको नेपाली अनुवाद शार्दूल भट्टराईले गरेका हुन् ।

अरु देशमा कम्युनिष्टहरु असफल भइरहेका छन् । यस्तो परिस्थितिमा सफल हुन्छौं भनेर तपाईं कसरी सोच्नुहुन्छ ?

कम्युनिज्मको मुल लक्ष्य समाजबाट शोषण, अन्याय, भ्रष्टचारजस्ता कुराहरुलाई निर्मूल गर्नु हो । यसका नीतिहरुलाई लागु गर्ने कुरामा विगतमा केही गल्तीहरु भए पनि यसको मतलब कम्युनिस्ट सिद्धान्तको लक्ष्य नै असफल भएको होइन । हाम्रो पार्टीको सन्दर्भमा प्रजातन्त्रको स्थापनाप्रति हामी प्रतिवद्ध छौं र जनादेश प्राप्त भएपछि मात्र सत्तामा जाने छौं ।

तपाईंसँग उत्तर कोरियाका नेता किम इल सुङका किताबहरु रहेको देखियो । किम इल सुङका बारेमा तपाईंको के धारणा छ ?
उहाँ एउटा सफल कम्युनिष्ट नेता हुनुहुन्छ, जस्ले आफ्नो देशको क्रान्ति र विकासमा योगदान पुर्याउनुभएको छ । उहाँको विचारधारालाई पछ्याउनै पर्छ भन्ने छैन ।

माओका रचनाहरु बारे नि ?

हाम्रो ग्रामीण युवाहरु चिनियाँ आन्दोलनको इतिहास पढ्दै हुनुहुन्छ र उहाँहरु त्यसैबाट सिक्दै हुनुहुन्छ ।

नेपालको कम्युनिष्ट पार्टीलाई चीन, सोभियत संघ र उत्तर कोरियाका कम्युनिष्ट पार्टीहरुसँग कुन रुपमा तुलना गर्नुहुन्छ ?
ती सबै कम्युनिष्ट पार्टीहरु मुक्ति, समानता र न्यायमा आधारित नयाँ समाजको स्थापनामा संलग्न छन् । ती देशका कम्युष्निट आन्दोनलहरु विभिन्न ढंगले अगाडि बढेका छन् । चीनमा सशस्त्र संघर्षबाट नै उनीहरु मुक्त भए । तर नेपालमा यतिबेला हामी शान्तिपूर्ण आन्दोलनमा छौं । चीन र उत्तर कोरियाले विदेशी प्रभुत्व र आक्रमण भोगेका थिए । हामी पनि विदेशी आक्रमण, साम्राज्यवाद र क्षेत्रिय प्रभुत्वको विरुद्ध आवाज उठाइरहेका छौं ।

केही गैरकम्युनिष्टहरु भन्छन्, ‘तपाईंले चीन र भारतका कम्युनिष्ट पार्टीहरुबाट आर्थिक सहयोग प्राप्त गर्नुभएको छ ?

यो झुट हो । चीन होस् या उत्तर कोरिया, अथवा भारतका कम्युनिष्ट पार्टीहरु नै किन नहोस् । हामीले कसैसँग आर्थिक या भौतिक सहयोग मागेका पनि छैनौं र पाएका पनि छैनौं । यस्तो आरोप हामीलाई हाम्रा तिनै विरोधीहरुले लगाएका छन् । जो चाहिं वास्तवमा विदेशी मुलुकबाट सहयोग पाइरहेका छ्न् ।

जातीयता र धार्मिक स्वतन्त्रताबारे तपाईंको धारणा के छ ?

हामी विभिन्न जातिहरुमाझ रहेको सामाजिक विभेदलाई अन्त्य गर्न चाहन्छौं । तर विभिन्न जातिको संस्कृति, परम्परा र धर्मको हामी सम्मान गर्छौं । केही बुढापाकाहरुमा अझै पनि चर्को भावना रहेको पाइन्छ । त्यस्का विरुद्ध पनि हामी शक्ति प्रयोग गर्न चाहदैनौं । उनीहरुको अन्तःस्करणमा रहेको जातिय विभेदको भावनालाई हटाउन उनीहरुलाई शिक्षादीक्षा दिने प्रयत्न गर्ने छौं । तल्लो जातकालाई अपमानित गर्ने अधिकार कसैलाई हुनुहुन्न भने माथिल्लो जातको अगाडि कोही निउरिनैपर्छ भन्ने पनि छैन । हामी चाहन्छौं- राज्य धर्म निरपेक्ष होस् । जहाँ प्रत्येकले आफ्नो धर्म अँगाल्न सक्ने छन् । राष्ट्र सबै धर्मप्रति तटस्थ रहने छ ।

देशका भूमिपतिहरुप्रति तपाईंको व्यवहार कस्तो रहने छ ?

हामी भूमिपतिहरुबाट जमिन लिने छौं र जोताहाहरुलाई दिनेछौं । यो काम हामी शान्तिपूर्ण तरिकाले गर्छौं । र, बिना मुआब्जा जमिन खोस्दैनौं । यदि भूमिपतिहरुले यसलाई स्वीकार नगरेमा उनीहरुप्रति शक्ति प्रयोग गर्न बाध्य हुनेछौं ।

मुआब्जाको रकम कहाँबाट ल्याउनु हुन्छ ?

जमिनको स्वामित्व लिन चाहने किसानहरुबाटै हामी त्यो रकम जम्मा गर्छौं । (आवश्यक भएमा) सरकारी राजश्व र सरकारी स्वामित्वका उद्योग धन्दाहरुको शेयरबाट पूर्ति गरिने छ । नगदको कमीलाई हटाउन मुआब्जा किस्ताबन्दीमा भुक्तानी गरिने छ ।

सामूहिकीकरणको पक्षमा हुनुहुन्छ ?

यो विचारलाई लागु गर्दा शक्ति प्रयोग गरिने छैन तर जनताको सेवाका लागि नमुना सहकारीहरुको स्थापनार्थ प्रोत्साहित गरिनेछ ।

कम्युनिष्टहरुले बहुमत पाएको अवस्थामा नेपालका लागि विदेशी सहयोग बन्द हुन सक्ने कुराबाट चिन्तित हुनुहुन्छ कि ?

कम्युनिष्ट सरकार आउने वित्तिकै विदेशी सहयोग बन्द गरिनुपर्ने कुनै कारण छैन । यद्यपि हामी हाम्रो देशको स्वाधीनता, स्वतन्त्रता, गरिमा र सार्वभौमिकताको मूल्यमा विदेशी सहयोग माग्ने पक्षमा छैनौं । हाम्रा लागि यी कुराहरु विदेशी सहयोगभन्दा धेरै महत्त्वपूर्ण छन् ।

भारतको सवालमा तपाईं कस्तो विदेश नीतिको वकालत गर्नुहुन्छ ?

विगत भारतसँग केही असमान र अपमानजनक सन्धिहरु भए । हामी ती सन्धिहरुको संशोधन गर्नेछौं र नवीकरणको प्रयत्न गर्नेछौं । हामी चीन र भारत दुवैसँग उत्तिकै राम्रो सम्बन्ध राख्न चाहन्छौं । हामी चीनमुखी पनि हुन चाहँदैनौं, भारतमुखी पनि हुन चाहँदैनौं ।

जुन बेला नेपाली जनता राजतन्त्रविरुद्ध अघि बढिरहेका थिए, त्यही बेला अन्य धेरै मुलुकका जनता त्यहाँका कम्युनिष्ट शासकहरुका विरुद्ध उठिरहेका थिए यदि यहाँ त्यस्तो भयो भने के गर्नुहुन्छ ?

हामी सत्तामा जब हुन्छौं, त्यसबेला त्यस्ता विरोध प्रदर्शनहरु हुने छैनन् तर पनि असामाजिक तत्त्वहरुले समाजमा अस्थिरता फैलाउन प्रत्यन गर्नेछन् । त्यस्तोमा हामी राज्य शक्ति प्रयोग गर्ने छैनौं । जनतालाई नै परिचालित गर्ने छौं । यदि असामाजिक तत्त्वहरुले हामीविरुद्ध प्रदर्शन गरेमा हामी पनि हाम्रो पक्षमा प्रदर्शन गर्न जनतालाई आह्वान गर्नेछौं । तर प्रहरी शक्तिको प्रयोग गर्ने छैनौं ।

स्रोतः मदन भण्डारी संकलित रचनाहरु-६



प्रतिक्रिया दिनुहोस्