Logo

प्रोफाइल : ‘एउटा खुट्टा आर्यघाटमा नपुगेसम्म अस्पताल नजाने ?’



एक १९ वर्षे किशोर मोटर साइकल दुर्घटनामा परे । स्वास्थ्य परीक्षणका क्रममा उनको शरीरमा रगतको मात्रा कमी मात्र देखिएन, मिर्गौलाले पनि काम गरेको रहेनछ । १.४ भित्र हुनुपर्ने क्रियटिनिनको स्तर १९ पुगिसकेको रहेछ । उनलाई तत्काल डायलासिसमा पठाए मिर्गौला रोग विशेषज्ञ डाक्टर अर्चन शमशेर राणाले ।

डा राणालाई ती किशोरको आवाज अझै पनि कानमा गुन्जिरहेको छ, – ‘मलाई केही भएकै छैन डाक्टर । मलाई सबै ठीक छ । म चुरोट, रक्सी केही पनि खादिनँ । म पहिलोचोटि अस्पताल आएको हुँ ।’

उनलाई लाग्छ- ती किशोरबाट त्यही गल्ती भयो । उनी अस्पताल छिर्दै छिरेनन् । अस्पताल रोग लागेपछि छिर्ने होइन, रोग नलाग्दै छिर्ने हो । धन्य हो, ती किशोरलाई बाबुले मिर्गौला दिएर ज्यान बचाए ।

ती किशोरको ‘केस स्टडी’ले बताउँछ, नेपालमा मिर्गौला रोगको अवस्था विकराल छ । विदेशमा मिर्गौला डायलासिस गर्ने अधिकांश ६०-७० वर्ष उमेर समूहका हुन्छन् । तर नेपालमा २५-३० वर्षका नौजवान पनि मिर्गौला डायलासिस गराइरहेका छन् ।

डा राणाको शब्दमा सुरुमै थाहा पाए हरेक रोगको उपचार छ । मिर्गौला रोगको सम्पूर्ण उपचार नेपालमै हुन्छ । तर हामीकहाँ बिरामीहरु एउटा खुट्टा आर्यघाटमा नपुगेसम्म अस्पताल नै जाँदैनन् । हड्डी मात्र बाँकी भएको अवस्थामा अस्पताल पुग्छन् अनि ज्यान तल-वितल भइहाल्यो भने डाक्टर र नर्सहरुमाथि हमला गर्छन् ।

‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन अभियान’ लिएर गाउँगाउँमा पुग्ने युवा मिर्गौला रोग विशेषज्ञ डा अर्चन शमशेर राणा सन् १९८२ अक्टोबर २७ मा काठमाडौंमा जन्मेका हुन् । उनको स्कुले जीवन द एलाइट्स को-एड स्कुल नागपोखरीमा बित्यो भने सन् १९९८ मा एसएलसी गरेपछि आन्द्र प्रदेश (भारत) गए । त्यहाँको विगनन विद्यालयमबाट आईएस्सी गरे ।

काठमाडौं मेडिकल कलेज टिचिङ अस्पतालबाट सन् २००५ मा एमबीबीएस गरेका उनले बंगबन्धु शेख मुजिब मेडिकल युनिर्भसिटीबाट सन् २०१६ मा नेफ्रोलजीमा ‘डक्टर अफ मेडिसिन’ गरे । त्यस्तै, अमेरिकन इन्टरनेसनल युनिर्भसिटी बंगलादेश ढाकाबाट सन् २०१७ मा जनस्वास्थ्य विषयमा स्नातकोत्तर (एमपीएच) पनि गरे ।

डा राणाका पिता मच्छिन्द्र शमशेर ‘बिजनेसम्यान’ हुन् भने दाजु शेचन शमशेर इन्स्युरेन्स कम्पनीमा काम गर्छन् । केटाकेटीदेखि नै उनको सपना थियो – डाक्टर बन्ने । डाक्टर बन्ने बाहेक अरु सोच्दै सोचेनन् ।

स्कुले जीवनमा अरु साथीहरु कोही डाक्टर, कोही पाइलट त कोही इन्जिनियर बन्छु भन्थे । तर उनी भन्थे, – ‘म त मिर्गौला रोग विशेषज्ञ बन्ने हो ।’

त्यसको कारण के भने उनको घर नजिकै थियो, नेसनल किड्नी सेन्टर (पहिले नक्साल, हाल वनस्थली) । त्यहाँ उनी डाक्टर ऋषिकुमार काफ्लेलाई देख्थे र उनले बिरामीलाई गरेको ‘लभ’ अनि ‘केयर’ देख्थे । साथसाथै बिरामीहरुको दीनहीन अनुहार पनि ।

एमबीबीएस सकेपछि उनले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलमै २ वर्ष मेडिकल अफिसर भएर किड्नी डिपार्टमेन्टमा काम गरे । उनले डा काफ्लेको छत्रछायामा पनि ३-४ वर्ष बिताउन पाए ।

ढाकाको बंगला बन्धु मेडिकल कलेजबाट फर्केपछि उनको मुकाम भयो, मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल । त्यहाँ नेसनल किड्नी सेन्टर अन्तर्गतको विभाग थियो । हालः उनी त्यहाँ एसोसियट प्रोफेसर छन् ।

यति मात्र होइन, कलंकीमा मार्क इन्टरनेसनल किड्नी सेन्टर पनि खोलेका छन् । लकडाउन अघि उनी दिनमा सय जनासम्म बिरामी हेर्थे मिर्गौलाका । तर बिरामी बढेको भन्दा पनि सरकारले उपचार निःशुल्क गरेपछि उपचारमा आएको उनको दाबी छ ।

नेपाल किड्नी फाउन्डेसनका अनुसार नेपालमा हरेक वर्ष तीन हजार नयाँ मिर्गौला बिरामी थपिन्छन् । झन्डै ८० प्रतिशत मिर्गौला बिरामी ३० वर्षमुनिका युवा छन् ।

‘काठमाडौंका मानिसहरु शिक्षित भईकन पनि वर्षको एक पटक पनि आफ्नो स्वास्थ्य परीक्षण गराउँदैनन्,’ उनी भन्छन्,- ‘मानिसहरु स्वास्थ्यका लागि भन्दा पनि आफ्नो सजिलोका लागि मात्र अस्पताल धाउँछन् ।’

मार्कमा प्रत्यारोपणबाहेकका सेवा उपलब्ध छन् । सरकारी कोटा नभएकाले सेन्टरलेथोरै शुल्क लिएर डायलासिस गरिरहेको छ । डायलासिस गराउनेहरुलाई हरेक सोमबार फ्री ओपीडीको सेवा छ भने ६० वर्षमाथिकालाई फ्रीमा डायलासिस सेवा पनि । बहिरंग सेवामा ५० प्रतिशत छुट छ । सेन्टरमा बायप्सी जाँच पनि हुन्छ ।

उनका अनुसार डायलासिस गरेर पनि मानिसहरु २०-२५ वर्षसम्म बाँच्न सक्छन् । आफ्नो परिवारबाट मिर्गौला पाउने अवस्था नभएका बिरामीले डायलासिस गरेर पनि जीवन निर्वाह गर्न सक्छन् । मार्कमा ‘कतिपय मिर्गौलापीडित बाइकमै आउँछन्, डायलासिस गराएर बाइकमै अफिस जान्छन् ।’

खासमा मार्क इन्टरनेसनल किड्नी सेन्टरले व्यावसायिकभन्दा पनि सेवामूलक काममा जोड दिएको छ । रोग लागिसकेपछि उपचार र सेवा दिनुभन्दा पनि विभिन्न कलेज, संघसंस्था वा रोटरी क्लबहरुसँग मिलेर रोग लाग्नबाट बच्न उपायसम्बन्धी जनचेतनामूलक काम गर्ने अनि सेन्टरमार्फत काठमाडौं बाहिर पनि डायलासिस सेवा दिने उनको उद्देश्य छ ।

डा राणा ‘स्वस्थ मिर्गौला, स्वस्थ जीवन अभियान’को स्वास्थ्य शिविर लिएर पोहोर सिन्धुली गएका थिए । तीन दिनसम्म ८०० बिरामीको स्वास्थ्य परीक्षण गरे । यो अभियानलाई लाइन्स क्लब अफ काठमाडौं कर्पोरेटको सहयोग छ । उनी त्यसका पनि अध्यक्ष हुन् ।

उनको अनुभवमा मिर्गौला रोग ‘साइलेन्ट किलर’ हो । यसले बिस्तारै बिरामीलाई मार्दै जान्छ । यो रोग लाग्नुको मुख्य कारण मधुमेह र उच्च रक्तचाप नै हुन् । अर्को कारण हो, पिसाबबाट प्रोटिन जानु । गाउँगाउँमा पिसाबबाट प्रोटिन बग्ने समस्याबाट पीडित छन् ।

‘डाइबेटिज, प्रेसर भएपछि किड्नीको रोग लाग्छ भन्ने कति मान्छेलाई थाहै छैन । मलाई प्रेसर छ त्यसको औषधि खाएको छु के हुन्छ र भन्ने छ,’ उनी भन्छन्, – ‘औषधिले कन्ट्रोल मात्र गर्ने हो, निवारण हुने होइन । त्यसका लागि शारीरिक अभ्यास र मुख बार्नु अनिवार्य छ । म रोग लाग्नबाट कसरी बँच्ने भन्ने उपाय सिकाउनुलाई ठूलो कुरा मान्छु ।’

उनका अनुसार मिर्गौला रोग लागे नलागेको थाहा पाउन मात्र रगत, पिसाब र भिडियो जाँच आवश्यक हुन्छ । यसका लागि धेरै खर्च लाग्दैन । तर नेपालमा समय समयमा स्वास्थ्य परीक्षण गर्ने परिपाटी नै छैन । ‘स्वास्थ्य परीक्षण गर्ने भनेपछि प्रायःको जवाफ उस्तै हुन्छ, पैसा छैन,’ डा राणा भन्छन्, ‘तर उनीहरुलाई रक्सी खान पैसा छ, चुरोट खान पनि हर्ज छैन । तर स्वास्थ्य परीक्षणका लागि पैसा छैन ।’

उनको भनाइमा सरकारले फ्री डायलासिसको सुविधा र प्रत्यारोपणमा सहुलियत त दिएको छ तर समयसमयमा स्वास्थ्य परीक्षण गर्ने हो भने त्यो सुविधा र सहुलियत नै चाहिँदैन ।

‘सरकारले डायलासिस र प्रत्यारोपणमा अर्बौं खर्च गर्छ तर रोग लाग्न नदिन एक चौथाइ खर्च गर्यो भने सरकारको ढिकुटीमा ५० प्रतिशतभन्दा बढी रकम बचत हुन्छ,’ उनी भन्छन्, – ‘यो त रोग लागेपछि सेवा गर्छौं भनेजस्तो हो । डायलासिस या प्रत्यारोपणभन्दा प्रिभेन्सनमै जोड दिनुपर्छ ।’

उनको टिप्स छ, – मिर्गौला जोगाउन दैनिक तीन लिटर पानी पिउनुपर्छ । चर्को नुन खाने बानी हटाउनुपर्छ । चिल्लो खानेकुरा कम खाने गर्नुपर्छ । प्याकेट गरिएका जंक फुडहरु सकेसम्म खानुहुन्न । मदिरापान तथा धूमपानका बानी हटाउनु पर्छ । डाक्टरको सल्लाह र रोगको उपचार नगराई औषधि किनेर प्रयोग गर्नुहुन्न । दैनिक व्यायाम गर्नुपर्दछ । हरेक वर्ष नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ ।

असार १५ मा डा राणाले विवाह वर्षगाँठ मनाए । रचना सिंह नेगीसँग १२ वर्षअघि मागी बिहे गरेका थिए उनले । उनीहरुका ७ वर्षका छोरा छन्, आरभ्य । रचना काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा पढाउँछिन् ।

भ्रमण र बगैंचा सजावटको सोख छ डा राणालाई । मनको शान्तिका लागि उनी बिहानको एक घन्टा समय बगैंचामा बिताउँछन् । अहिलेसम्म उनले मुलुकका ४०-५० जिल्ला घुमिसकेका छन् । उनी आफ्ना पितासँग लङड्राइभमा गइरहन्छन् ।

आफ्नै देशको प्रकृति उनलाई प्रिय लाग्छ । पूर्वको श्रीअन्तुमा सूर्योदय हेरेर मोहित भएका छन् । भेडेटारको कुहिरोमा हराएका छन् । पश्चिमका डोटी, डडेलधुरा पुगेका छन् । दार्चुला जाने मौका मिलेको छैन ।

‘हुन त जीवन अनिश्चयकै पुलिन्दा हो । तर निश्चित योजना बनाएर अघि बढ्नुको विकल्प छैन । यसमा हार र हरेस खानुहुन्न ।’ डा राणाले झन्डै ४० वर्षे जीवनमा सिकेका कुरा यिनै हुन् ।

भारत र बंगलादेशमा पढ्दा उनी घरबाट पठाएको पैसाले कपडा किन्थे, मुभी हेर्थे, मस्ती गर्थे । तर भारतीय र बंगलादेशी साथीहरु एकदमै कम खर्च गर्थे । त्यतिबेला उनलाई साथीहरु कन्जुस र लोभी लाग्थे । अहिले उनी अनुभव गर्छन्, वास्तवमा ती साथीहरु ठीक रहेछन् ।

जीवनमा उनले सिकेको अर्को कुरा हो, ‘डु स्मल थिङस्’ । साना साना खुसीहरु बेहिसाब छन् । तर हामी तिनलाई बिर्सेर अमूर्त किसिमको खुसी खोजिरहेका छौं । अनि सदैव दुःखी भइरहेका छौं ।

‘हामीकहाँ मिडिया नराम्रो, डाक्टर नराम्रो, नेता नराम्रो भनेको पाउँछु, आखिर राम्रो को हो त ?’ उनी भन्छन्, – ‘अब अरुलाई नराम्रो भनेर होइन, आफैं राम्रो बनेर देखाउने समय आएको छ ।’

उनी नेताले विकास गदिदिएनन् भनेर रुनुको पनि अर्थ देख्दैनन् । ‘अब हामी आफैंले गर्ने हो देशको विकास । ५-१० वर्षमा स्वर्ग बन्छ नेपाल,’ डाक्टर राणाको आत्मविश्वास छ, ‘हामीले बिल गेट्सले जति डोनेसन गर्न नसकौंला । मेलम्चीका बाढीपीडितलाई दुई छाक खान दिन त सक्छौं नि । व्यक्ति, संस्था हुँदै देश सफल हुने त हो नि ।’

तपाईं पनि डाक्टर राणाका विचारलाई एकछिन गमेर हेर्नुस् त !

उनको जीवनका तीन आदर्श डाक्टर हुन्, डा ऋषिकुमार काफ्ले, डा. दिव्यासिंह शाह र डाक्टर सन्दुक रुइत । मिर्गौली रोगीको अटुट सेवामा डा काफ्लेको लगनले उनलाई बेग्लै छाप पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमै प्रत्यारोपणका लागि प्रेरित गर्ने डा शाह अनि गरिबको आँखा उपचारमा डा रुइतको अथक सेवाप्रति उनको विशेष सम्मान छ ।

उनी नेपाल सोसाइटी अफ नेफ्रोलोजी र सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालका आजीवन सदस्य एवं इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजी, अमेरिकन सोसाइटी अफ नेफ्रोलोजी र युरोपियन रेनल एसोसिएसनका सदस्य छन् ।

उनको जीवनको ड्रिम प्रोजेक्ट हो, मुलुकमा सुविधा सम्पन्न मिर्गौला अस्पताल खोलेर ३६५ दिन नै सेवा दिने । नेपालमा अस्पताल र विशेषज्ञ डाक्टर धेरै भए पनि बुटवलबाट पश्चिम विशेषज्ञ सेवा नपुगेको उनको अनुभव छ । त्यसैले बिरामी कि त काठमाडौं कि भारत धाउन विवश छन् ।

त्यसैले उनी ५ ६ वर्षदेखि महिनाको एक पटक धनगढीदेखि महेन्द्रनगरसम्म पुग्छन् । त्यही मौकामा दाङ, घोराही या नेपालगन्जका बिरामीले पनि उनको सेवा पाउँछन् । उनका अनुसार मुलुकमा ५० जना विशेषज्ञ छन् । तीमध्ये धेरैजसो काठमाडौंमा छन् । त्यसपछि चितवन, पोखरा र विराटनगरमा ।

 



प्रतिक्रिया दिनुहोस्